काठमाडौं- नेपाल निजामती कर्मचारी युनियन, प्राथमिक कार्य समिति औषधि व्यवस्था विभागले फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिहरुलाई तुरुन्तै पक्राउ गरी हदै सम्मको कारबाही गर्न माग गरेको छ।
विभाग कार्यसमितका तर्फबाट अध्यक्ष धीरज रौनियार र सचिव चतुर्भुज धनाडीको हस्ताक्षरसहित बुधबार जारी विज्ञप्तिमा सुरक्षित कार्य वातावरण सिर्जना गर्न पनि माग गरिएको छ।
'कर्तव्य पालनका क्रममा कार्यालयको नियमित कामकाजमा खटिएका कर्मचारीहरूलाई डरत्रास, धाकधम्की तथा शारीरिक आक्रमणजस्तो आपराधिक क्रियाकलाप गर्नु गम्भीर अपराध हो, जसले कर्मचारी मनोबल घटाई जनताको सेवा प्रक्रियामाथि प्रतिकूल असर पार्दछ। सो घटनामा संलग्न व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गरी प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरी सुरक्षित कार्य वातावरण सृजना गरिदिनुहुनका लागि जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
फार्मेसी दर्ता नगरी औषधि बिक्री गर्दै आएको उजुरीका आधारमा जेठ ५ गते अनुगमनमा खटिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुईजना कर्मचारी घाइते भएका छन्। घटनामा फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका थिए।
हेरौं विज्ञप्तिको पूर्णपाठ
निजामती कर्मचारीहरूको पेशागत हकहितको संरक्षण र संबर्द्धन गरी निजामती सेवालाई मर्यादित बनाउन र निजामती प्रशासनलाई सबल, सक्षम, जनमुखी, जवाफदेही, व्यवसायीक र लोकतान्त्रिक बनाई राज्यका तर्फबाट नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्धेश्यका साथ स्थापना भएको राष्ट्रियस्तरको ट्रेड युनियन, नेपाल निजामती कर्मचारी युनियनले आफ्ना हक अधिकारहरु स्थापित गराउन, सेवाको सुरक्षाको प्रत्याभुत गर्न र कर्मचारीको कार्यस्थलको सुरक्षाको ग्यारेण्टीको लागि निन्तर क्रियाशिल रहदै आएको छ ।
मिति २०८२ जेठ ०५ गते सोमवारका दिन रौतहट जिल्ला, राजपुर नगरपालिका-४ मा दर्ता नगरी औषधि पसल सञ्चालन गरेको तथा विक्रि वितरणमा रोक लगाइएका औषधिहरू समेत विक्रि भईरहेको भन्ने उजुरीको आधारमा औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगन्जका प्रमुख ( औषधि व्यवस्थापक) शम्भु शाहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि तथा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक सहितको संयुक्त अनुगमन टोलीद्वारा गरिएको अनुगमन क्रममा औषधि निरीक्षकहरु ओम जयसवाल र अमर शर्मामाथि केही व्यक्तिहरूद्वारा गरिएको हातपात तथा अमानवीय व्यवहारप्रति नेपाल निजामती कर्मचारी युनियन, प्राथमिक कार्य समिति औषधि व्यवस्था विभागको गम्भीर ध्यानाकर्षण भएको छ । यस दुर्भाग्यपूर्ण घटनाबाट घाइते हुनुभएका कर्मचारी मित्रहरूप्रति युनियन परिवार गहिरो चिन्ता र दुःख व्यक्त गर्दै घाइते मित्रहरूको शीघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछौ ।
यस प्रकारको गैरकानुनी, अमर्यादित, दुर्व्यवहारपूर्ण व्यवहार तथा कर्मचारीको व्यक्तिगत सुरक्षामा गम्भीर असर पार्ने कार्यको नेपाल निजामती कर्मचारी युनियन, प्राथमिक कार्य समिति, औषधि व्यवस्था विभाग घोर निन्दा र भर्त्सना गर्दछ । कर्तव्य पालनका क्रममा कार्यालयको नियमित कामकाजमा खटिएका कर्मचारीहरूलाई डरत्रास, धाकधम्की तथा शारीरिक आक्रमणजस्तो आपराधिक क्रियाकलाप गर्नु गम्भीर अपराध हो, जसले कर्मचारी मनोबल घटाई जनताको सेवा प्रक्रियामाथि प्रतिकूल असर पार्दछ । सो घटनामा संलग्न व्यक्तिहरूलाई तुरुन्तै पक्राउ गरी प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरी सुरक्षित कार्य वातावरण सृजना गरिदिनुहुनका लागि जोडदार माग गर्दछौ ।