काभ्रेपलाञ्चोक- 'एनपीए इन्टरनेशनल कन्फरेन्स २०२५' काठमाडौं विश्वविद्यालय, धुलिखेलमा यही २९ देखि ३१ मे २०२५ सम्म हुने भएको छ। सम्मेलनमा फार्मास्युटिकल विज्ञान, परम्परागत चिकित्सा तथा फार्मेसी अभ्याससम्बन्धी विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना हुँदैछ।
नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) को आयोजनामा र काठमाडौं विश्वविद्यालयको सहकार्यमा हुन लागेको यो सम्मेलनमा नेपाल, चीन, बंगलादेश, भारत, फिलिपिन्सलगायतका देशका विज्ञ तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने एनपीएका महसचिव सञ्जीव शर्मा कट्टेलले बताएका छन्।
कार्यक्रमको उद्घाटन एनपीएका अध्यक्ष ललित मोहन पन्तको अध्यक्षतामा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले को प्रमुख आतिथ्यमा हुनेछ। उद्घाटन समारोहमा राष्ट्रिय गान, स्वागत मन्तव्य र औपचारिक उद्घाटन कार्यक्रम पनि समावेश गरिएको छ।
सम्मेलनमा चार प्रमुख वैज्ञानिक सत्र सञ्चालन हुनेछन्, जसमा विषयगत अनुसन्धान र छलफल गरिनेछ। फार्मास्युटिकल साइन्स सत्र, परम्परागत चिकित्सा सत्र फार्मास्युटिकल व्यवस्थापन र नीति
र फार्मेसी अभ्यास सत्र रहने कट्टेलले बताए।
फार्मास्युटिकल साइन्स सत्रमा अध्यक्षता प्राडा फाङ यी र सह-अध्यक्षता प्राडा रजनी शाक्यले गर्ने यस सत्रमा बायोइक्विभालेन्स परीक्षण, एन्टि-एचआईभी यौगिकहरू, लिपिड न्यानोक्यारियर्स, र मेटल कम्प्लेक्सहरूको बायोएक्टिभिटीबारे अनुसन्धान प्रस्तुत गरिनेछ।
अर्को परम्परागत चिकित्सा सत्र रहेको छ। प्राडा लिमेल लिन र प्राडा शुनशियाङ लिको संयोजनमा सञ्चालन हुने यस सत्रमा चिनियाँ तथा नेपाली चिकित्सा प्रणाली, औषधीय वनस्पति र जडिबुटीको आधुनिक चिकित्सामा प्रयोगबारे गहन अनुसन्धान प्रस्तुत गरिनेछ। प्राडा धर्म खनालले नेपालको परम्परागत चिकित्सा अभ्यासमाथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
फार्मेसी अभ्यास सत्रमा ‘गुड फार्मेसी प्राक्टिस’ र मधुमेह तथा उच्च रक्तचापजस्ता दीर्घरोगको व्यवस्थापनमा फार्मासिस्टहरूको भूमिकाबारे अनुसन्धान प्रस्तुत गरिनेछ। सत्रको संयोजन मिस ईवा टेरासाल्मी र डा योलान्डा रोब्लेसले गर्नेछन्। त्यसैगरी फार्मास्युटिकल व्यवस्थापन र नीति सत्रको अध्यक्षता प्राडा उपेन्द्र नागैच र सह-अध्यक्षता एसोसिएट प्राडा गुलाम मोहम्मद खानले गर्नेछन्।
कार्यक्रमको अन्तिम दिन विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि पोस्टर प्रस्तुति सत्र आयोजना गरिनेछ, जसमा उनीहरूले आफ्ना अनुसन्धान दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछन्। समापन सत्रमा आयोजकहरूले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपालमा फार्मेसी शिक्षा, अनुसन्धान र वैज्ञानिक सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास एनपीएको रहेको छ।