काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबिरुद्ध डा किरन थापाले दायर गरेको रिट खारेज भएको छ। बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले उनले मन्त्रालयलगायतबिरुद्ध दायर गरेको रिट खारेज गरेको हो।
डा थापाको रिटको खारेजीसँगै चिकित्सा शिक्षा आयोगले पीजी म्याचिङ प्रक्रिया थाल्न छलफल गरिरहेको छ।
डा थापाले आफूले पीजी अध्ययन नगरेका कारण तोकिएको बिगो मिनाहा गर्नुका साथै म्याचिङ प्रक्रियामा सहभागी गराउन मुद्दा दायर गरेका थिए। छात्रवृत्तिमा नाम निकालेका उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीजीका लागि सिफारिस भएका थिए।
तर, उनले आफू पीजी अध्ययन नगरेका कारण बिगो मिनाहा र नयाँ म्याचिङ प्रक्रियामा सहभागीताका लागि मुद्दा दायर गरेका हुन्। उनको मुद्दाका कारण पीजीको म्याचिङ प्रक्रिया रोकिएको थियो।
अर्को समूहले दायर गरेको मुद्दा भने फिर्ता लिइएको थियो।