काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहमा इजिप्ट सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार शैक्षिक सत्र २०२५/२६ का लागि इजिप्ट सरकारले प्रदान गर्ने छात्रवृत्तिमा दुई जना नेपाली विद्यार्थीलाई अवसर प्रदान गरिनेछ।
छात्रवृत्ति लागि रेडियोलोजी र इन्टरलन मेडिसिन विषयमा एक/एक सिट खुला समूह अन्तर्गत उपलब्ध छ। इच्छुक र योग्य उम्मेदवारहरूले मिति २०८२ साल जेठ १३ गते बिहान १०:०० बजेबाट जेठ १६ गते अपराह्न ३:०० बजेसम्म आफ्नो अनलाइन प्रोफाइलमार्फत आवेदन दिन सक्नेछन्।
छनोट प्रक्रिया अन्तर्गत जेठ १७ गते शनिवार, उम्मेदवारहरूको भौतिक म्याचिङ कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको समयतालिका निम्नानुसार छ:
रजिष्ट्रेशन: बिहान १०:०० देखि ११:०० बजेसम्म
म्याचिङ सेसन सुरु: बिहान ११:१५ बजेबाट
म्याचिङ सेसनमा सहभागी हुन चाहने उम्मेदवारहरूले अनिवार्य रूपमा निम्न कागजातहरू साथमा ल्याउनु पर्नेछ:
१. एकीकृत प्रवेश परीक्षाको प्रवेशपत्र र स्कोरकार्ड
२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
३. एकीकृत प्रवेश परीक्षामा आवेदन दिँदा पेश गरिएको शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र
(समकक्षता प्रमाणपत्र आवश्यक पर्ने उम्मेदवारका हकमा सो प्रमाणपत्र समेत)
छात्रवृत्तिमा अध्ययनको अवसरका लागि योग्य नेपाली विद्यार्थीहरूलाई समयमै आवेदन दिन तथा म्याचिङ कार्यक्रममा उपस्थित हुन मन्त्रालयले अनुरोध गरेको छ।