काठमाडौं- सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। डेढ महिनादेखि रिक्त रहेका प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ।
सिफारिस समितिमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा सदस्य छन्। सुरुमा पोखराका लागि मात्र अधिकार पाएको उक्त समितिले पछि चारवटा प्रतिष्ठानका लागि काम गर्ने अधिकार पाएको हो।
समितिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।
समितिले चार वटै प्रतिष्ठानमा उपकुलपति सिफारिसका लागि मापदण्ड बनाउने काम अगाडि बढाएको छ। मापदण्ड बनाउने काम सकिएपछि समितिले सार्वजनिक सूचना जारी गर्दै उपकुलपतिका लागि आवेदन माग गर्ने तयारी गरेको छ।
प्रतिष्ठानमा उपकुलपति नियुक्तिमा ढिलाइ हुँदा निमित्त प्रमुखहरूले जिम्मेवारी सम्हालिरहेका छन्। बीपी प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गत चैत २७ गतेदेखि रिक्त भएका हुन्। पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति चैत २२ गतेबाट रिक्त भएका हुन्।