काठामडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नेसनल क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि आवश्यक सुझाब माग गरेको छ।
मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै क्यान्सर इन्स्टिच्युट स्थापनका लागि सुझाब माग गरेको हो।
क्यान्सर इन्स्टिच्युट स्थापनका लागि गठित सम्भाव्यता अध्यन समितिले प्रतिवेदन तयार गरिरहेको भन्दै मन्त्रालयले सुझाब माग गरेको हो।
'नेसनल क्यान्सर इन्स्टिच्युट सम्भाव्यता अध्ययन समितिले अध्ययन प्रतिवेदन तयार गरिरहेको अवस्थामा तपाईंहरुको सुझाबबाट अझ व्यवस्थित रुपमा इन्स्टिच्युट स्थापना गर्न सकिने भएकोले ७ दिनभित्र रचनात्मक सुझाव उपलब्ध गराइदिनु हुन अनुरोध छ,' सूचनामा भनिएको छ।
मन्त्रालयले [email protected] वा [email protected] मा WhatsApp/Viber message: 9851330592 हेल्लो स्वास्थ्य कल सेन्टर १११५ (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म फोन गर्न अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेलको संयोजकत्वमा गठित समितिले आवश्यक काम अगाडि बढाएको हो।
समितिमा डा गिसुपनिख प्रसिको, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा शिवजी पौडेल, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसे, स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा सदस्य रहेका छन्। यस्तै मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक भक्तबहादुर केसी सदस्य सचिव रहेका छन्।