काठमाडौं– नेपालमा सर्पदंशका कारण हरेक वर्ष तीन हजारभन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्राडा सञ्जीवकुमार शर्माले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा हरेक वर्ष सर्पको टोकाइका कारण ४० हजार मानिस प्रभावित हुने गरेका छन्।
'वार्षिक ४० हजारभन्दा बढी व्यक्तिलाई सर्पले डस्ने गरेको छ, जसमध्ये ३ हजारभन्दा बढीको मृत्यु हुन्छ। यो भनेको दैनिक औसत ८ जनाको ज्यान सर्पदंशका कारण गुम्ने गरेको डरलाग्दो अवस्था हो,' डा शर्माले भने।
सर्पदंशबाट प्रभावित हुनेमा अधिकांश गरिब र अशिक्षित परिवारका सदस्यहरू रहेको उनले बताए।
विशेष गरी तराई क्षेत्रमा यस्ता घटना बढी हुने गरेको रोटरी क्लब अफ काठमाडौं मिड–टाउनका डा निर्मल रिजालले पनि उल्लेख गरे।
सर्पदंशपछि समयमै उपचार नहुँदा मृत्युदर बढेको डा शर्माको भनाइ छ। 'सर्पले डसेपछि धामीझाँक्रीको भर पर्ने र जडिबुटीको प्रयोग गर्ने चलनले अस्पताल पु¥याउन ढिलाइ हुन्छ, जसले मृत्युको जोखिम बढाउँछ,' उनले भने।
उनले सर्पले डसेको तत्काल उपचार केन्द्रमा पुर्याउनुपर्ने र टोकेको ठाउँलाई चलाउन नहुने सुझाव दिए। साथै, टोकेको ठाउँमा कपडा कस्ने, चुस्ने वा झार हाल्ने जस्ता गलत प्रचलनले अङ्गभङ्ग हुने जोखिम बढाउने उनको चेतावनी छ।
नेपालमा करेत, कोब्रा, हरेउ र गोमन सर्पले बढी टोक्ने गरेको पाइएको छ। डा शर्माका अनुसार करेत र गोमन सर्पले टोकेमा एक घण्टाभित्र उपचार पाएमा बिरामी बचाउन सकिन्छ। तर, करेतको टोकाइमा दुखाइ नहुने र घाउ सानो हुने भएकाले धेरैले समयमै उपचार नखोज्दा जटिलता बढ्ने गरेको उनले बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले सर्पदंशबाट बच्न सञ्चारमाध्यममार्फत सचेतना फैलाउनुपर्नेमा जोड दिए। 'धेरैजसो गरिब र अशिक्षित समुदाय प्रभावित छन्, उनीहरूसम्म सचेतना पुर्याउन जरुरी छ,' उनले भने।
संघका महासचिव डा सञ्जिव तिवारीले सर्पदंशबाट बच्न घर वरपर सरसफाइ गर्ने, राति हिँड्दा टर्चलाइटको प्रयोग गर्ने र जङ्गलमा जाँदा सावधानी अपनाउन सुझाव दिए।
विशेषज्ञहरूले सर्पदंशको उपचारका लागि आइसियु र भेन्टिलेटरको आवश्यकता पर्ने भए पनि धेरै उपचार केन्द्रमा यस्तो सुविधा नहुँदा बिरामीको मृत्यु हुने गरेको गुनासो गरे। सर्पदंशबाट बच्न र यसको जोखिम कम गर्न व्यापक जनचेतना र स्वास्थ्य सुविधाको विस्तारमा ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ।