काठमाडौं- महिनावारीको समयमा प्रयोग गर्ने स्यानिटरी प्याड,मेन्सुरल कप तथा मेन्सुरल टेम्पोन जस्ता स्यानिटरी प्रोडक्टमा १३ प्रतिशत कर लाग्ने व्यवस्था गरिएको भन्दै नेपाल चिकित्सक संघले विरोध जनाएको छ।
'महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस विषयमा नेपाल सरकार उदासीन हुँदा कैयौं महिलाहरू स्यानिटरी प्रोडक्ट उपयोग गर्नबाट वञ्चित हुनुपरेको छ र यसबाट महिलाहरुको स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने गरेको छ,' महासचिव डा सञ्जीव तिवारी हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ।
हरेक महिना महिनावारी व्यवस्थापनमा प्रयोग हुने वस्तु सहज रूपमा उपलब्ध गराउनु नेपाल सरकारको दायित्व हो। यस विपरित महिलाका लागि अत्यावश्यक रहेको स्यानिटरी प्रोडक्टहरुमा कर लगाउनु आपत्तिजनक रहेको संघको ठहर छ।
महिनावारी व्यवस्थापनमा प्रयोग हुने स्यानिटरी प्रोडक्टहरुमा कर छुट गर्न तथा यस्ता वस्तुहरु स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्नका लागि आवश्यक कदम चाल्न नेपाल चिकित्सक संघ नेपाल सरकारसँग जोडदार माग गरेको छ।