काठमाडौं- नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल, नेपालका निजी स्वास्थ्य संस्था तथा नेपालका निजी मेडिकल तथा डेन्टल कलेज संघका प्रतिनिधिहरूले आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।
भेटमा उनीहरुले स्वास्थ्य क्षेत्रमा देखिएका विविध समस्या र चुनौतीबारे जानकारी गराउँदै आवश्यक समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिमण्डलले हालै उपभोक्ता अदालतले गरेको निर्णय, स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित बढ्दो दबाव, चिकित्सा शिक्षामा देखा परेका नीतिगत अस्पष्टता तथा निजी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
उनीहरूले अदालतको निर्णयले स्वास्थ्य क्षेत्रको मनोबल खस्कन सक्ने खतरा रहेको भन्दै यथाशीघ्र यससम्बन्धी स्पष्ट नीति र कानुनी संरचना आवश्यक रहेको बताए।
भेटमा प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको चासोलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता जनाउँदै समाधानका लागि आवश्यक समन्वय र संवादमार्फत अघि बढ्ने आश्वासन दिएका थिए।