हेटौंडा– बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयद्वारा आयोजित "बागमती प्रदेश पूर्णखोप घोषणा तथा बागमती डिजिटल हेल्थ शुभारम्भ समारोह" को अवसरमा योगदान पुर्याएकाहरुलाई सम्मानित गरेको छ।
सोही क्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, ललितपुरमा कन्सल्टेन्ट आयुर्वेद विज्ञका रूपमा कार्यरत डा. पुनम नेपाललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा प्रदेश सरकारले सम्मान–पत्र प्रदान गर्दै प्रशंसा व्यक्त गरेको हो।
स्वास्थ्य मन्त्री किरण थापा मगर र स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशका प्रदेश सचिव डा. सुमित्रा गौतम रहेको समारोहमा प्रधानमन्त्री के. पी. शर्मा ओलीको विशेष आतिथ्यता रहेको थियो।
प्रदेश सरकारले डा. नेपालबाट आगामी दिनमा अझ उत्कृष्ट र प्रेरणादायी कार्यको अपेक्षा राखेको जनाएको छ। कार्यक्रममा बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रको डिजिटल रूपान्तरण र सम्पूर्ण बालबालिकालाई खोप प्रदान गरिएको घोषणासमेत गरियो।