काठमाडौं- नेक्सस इन्स्टिच्युट अफ रिसर्च एण्ड इनोभेसन (निरी)ले चौथो वार्षिक अनुसन्धान संगोष्ठी गरेको छ। 'नेपालको स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानमा चुनौतीहरू सम्बोधनका लागि नवीनतम् प्रविधिहरूको उपयोग' भन्ने शीर्षकमा आयोजित उक्त संगोष्ठीले विविध क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् र नीति निर्माता समेट्दै प्रविधिनिर्भर समाधानहरूबारे व्यापक छलफलको मञ्च प्रदान गर्यो।
बेन्चमार्क कार्यक्रममा सहभागी डा. राजेन्द्र पंगेनी (अध्यक्ष, एनआईआरआई) ले उद्घाटन मन्तव्यमा भने, 'हामी उन्नत प्रविधिमा दक्ष जनशक्ति निर्माण र स्वास्थ्य सेवा डेटाको प्रभावकारी उपयोगमार्फत् स्थानीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित अगाडि बढिरहेका छौँ। यस संगोष्ठीले डिजिटल स्वास्थ्य र नवप्रविधिले भौगोलिक अवरोध पार गर्न र विशेषज्ञताको अभाव समाधान गर्न कसरी भूमिका खेल्न सक्छ भन्ने विषयमा महत्वपूर्ण बहसको अवसर दिएको छ।'
कार्यक्रममा टेलिमेडिसिन, एआई–सञ्चालित प्रारम्भिक रोग पहिचान, ग्रामीण क्षेत्रका लागि विशेष समाधानहरू, र कुशल डेटा व्यवस्थापन सम्बन्धी प्रस्तुतीकरणहरू प्रस्तुत गरिएका थिए। संगोष्ठीका वक्ता कमल ढकाल (संयुक्त राज्य अमेरिका)ले बायोमेडिकल अनुसन्धानमा नवीनतम प्रविधिहरूको परिचय दिएका थिए।
त्यस्तै सुवाश सेधैन (संयुक्त राज्य अमेरिका) विकासशील मुलुकहरूमा एआईको प्रभाव, डा तुलसी आचार्यले नेपालको माथिल्लो मुस्ताङ, लोमान्थाङमा गरिएको क्षेत्रीय अनुसन्धानको प्रतिवेदन प्रस्तुत, प्रकृति कार्की (लर्निङ प्लानेट इन्स्टिच्युट)ले सन् २०१६–२०२२ बीच क्यान्सर प्रवृत्तिको अध्ययन, प्रकृति थापाले नेपालमा शैक्षिक नवप्रवर्तनका पूर्वाधार निर्माणमा पूर्वछात्र संघहरूको भूमिका, रेशिका रिमाल (एपिडेमियोलोजिस्ट, नेभाडा विश्वविद्यालय, रेनो)ले ६ देखि ११ वर्षका बालबालिकामा खाद्य असुरक्षा र व्यवहारगत समस्याहरूको विश्लेषण र सुरज आचार्य (पाम माइन्ड टेक्नोलोजी)ले ईईजी संकेतमार्फत उमेर पूर्वानुमान गर्ने प्रविधिको प्रयोगबारे प्रस्तुति राखेका थिए।
प्रस्तुतीकरणहरूबाट स्पष्ट भएको थियो कि उदीयमान प्रविधिहरू (जस्तै कृत्रिम बुद्धिमत्ता, जैव-सूचना विज्ञान र डिजिटल स्वास्थ्य) नेपालको वर्तमान प्रणालीमा रहेको संरचनात्मक चुनौतीहरूमाथि असरदार हस्तक्षेपको माध्यम बन्न सक्नेछन्।
संगोष्ठीमा करिब १५० जनाको सहभागिता रहेको थियो, जसमा अनुसन्धानका प्रारम्भिक चरणमा रहेका युवा अनुसन्धानकर्ता, सरकारी अधिकारी, विश्वविद्यालय प्रतिनिधि, र प्रविधिमा रुचि राख्ने विज्ञहरू रहेका थिए। सहभागीहरूले यो कार्यक्रमले सहकार्यको सञ्जाल निर्माण गर्न, अनुसन्धानमा नवीन दृष्टिकोण अपनाउन, र स्वास्थ्य तथा शिक्षा क्षेत्रमा दीगो सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
आयोजक समिति प्रमुख डा. पुष्पराज पन्तले समापनमा भने, 'यो संगोष्ठी नेपालको विकासमा टेवा पुर्याउने व्यावहारिक रणनीति निर्माणको दिशामा छोटो भएपनि महत्त्वपूर्ण कदम हो। आगामी वर्षहरूमा प्रविधि, अनुसन्धान र शिक्षाबीचको अन्तरसम्बन्ध अझ सुदृढ पार्दै लैजाने हाम्रो उद्देश्य हुनेछ।'