काठमाडौं- राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा विधेयकमा ४३ जना सांसदले १९३ वटा संशोधन प्रस्ताव हालेका छन्।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा विभिन्न राजनीतिक दलका सांसदहरुले एकल र बहुविषयमा संशोधन हालेका छन्।
सांसदहरुले विधेयकमा हालेको संशोधनमा स्वास्थ्य सेवालाई पनि संघीय निजामती सेवा विधेयकमा समावेश गर्नुपर्ने प्रस्तावहरु परेका छन्।
सांसदहरुले विधेयकको दफा २ मा रहेको 'निजामती कर्मचारी भन्नाले संघीय निजामती सेवा, संघीय संसद सेवा, नेपाल स्वास्थ्य सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवाको पदमा बहाल रहेको व्यक्ति सम्झनुपर्दछ' भन्ने विषयदेखि दफा ५ मा नेपाल स्वास्थ्य सेवा थप्नुपर्ने, श्रेणीमा बहाल निजामती कर्मचारी भन्ने शब्दहरुको सट्टा 'श्रेणी र तहमा बहाल निजामती कर्मचारी र नेपाल स्वास्थ्य सेवाका कर्मचारी' भन्ने शब्दहरु राख्नेसम्मका संशोधनहरु राखेका छन्।
यस्तै नेपाल स्वास्थ्य सेवाको बाह्रौ तहमा बहाल रहेका कर्मचारी तेह्रौ तहमा, एघारौं तहमा पाँच वर्ष वा सोभन्दा बढी समय बहाल रहेको कर्मचारी बाह्रौं तहमा भन्ने उपदफाहरु पनि थप गर्न संशोधन हालेका छन्।
स्वास्थ्य सेवालाई छुट्टै विधेयक बनाएर ल्याउने वा संघीय निजामती विधेयकमा नै गाभ्ने भन्ने विषयमा लामो समयदेखि बहस हुँदै आइरहेको छ।
स्वास्थ्यकै संघसंस्थाहरुबीच नै यो विषयमा एकमत छैन। केही संस्थाले निजामतीमै राख्दा उचित हुने भनिरहेका छन् भने केहीले स्वास्थ्य सेवा ऐन छुट्टै हुनुपर्छ भन्दै आइरहेका छन्।
राष्ट्रिय सभामा सांसदहरुले संशोधन प्रस्ताव राखेपछि औपचारिक रुपमा निजामती विधेयकमा स्वास्थ्य सेवाका विषयले प्रवेश पाएको छ। स्वास्थ्यका कर्मचारीले अब यस विषयमा थप गृहकार्य अगाडि बढाउने समेत बताइएको छ।
स्वास्थ्य मन्त्रीका रुपमा एक वर्ष पूरा गरेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलले दुई साता अघि मात्र स्वास्थ्य सेवालाई निजामतीतिर नै गाभ्ने कुरा पनि आइरहेको बताएका थिए।
'स्वास्थ्य सेवामा ऐनको कुरा पनि छ त्यसलाई निजामती तिर नै गाभ्ने कुरा पनि आइरहेको छ,' पत्रकार सम्मेलनमा उनले भनेका थिए।
उनले स्वास्थ्य सेवा विशिष्टकृत सेवा भनिए पनि तलब लगायतका सेवा सुविधा भने त्यस अनुसार नभएकाले निजामतीमा गाभिए पनि सेवा सुविधा स्वास्थ्यको संवेदशीलता अनुसार नै हुने पनि जानकारी दिएका थिए।
हेरौं सांसदहरुले हालेको संशोधन प्रस्तावको पूर्ण विवरण