काठमाडौं- सिंहदरबार वैद्यखानाले एक वर्षमा ३ करोड बराबरको औषधि बिक्री गरेको छ। सिंहदरबार वैद्यखानाका निर्देशक डा प्रदीप केसीका अनुसार ८ करोड बराबरको बिक्री लक्ष्य भएपनि ३ करोड बराबर मात्रै बिक्री गर्न सकिएको हो।
निर्देशक डा केसीले १११ प्रकारका औषधि उत्पादनको सोच भएपनि २५ वटा मात्रै बजारमा ल्याउन सकिएको बताए । हाल वैद्यखानाले हाल च्वनप्राश, शिलाजित, तुलसी चिया लगायतका औषधि बिक्री गर्दै आएको छ।
नेपाल सरकारले निशुल्क वितरण गर्ने आयुर्वेर्दिक औषधिको सूचीमा रहेका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर भएको निर्देशक डा केसी बताउँछन्। आर्थिक वर्ष ८१/८२ मा उत्पादन लक्ष्य अनुसार उत्पादनका क्रममा विभिन्न १० प्रकारमा औषधि रहेका छन्। त्यस्तै विभिन्न १३ प्रकारमा औषधि छिटो उत्पादनका क्रममा रहेका छन् । पटक पटक नेतृत्व परिवर्तन हुँदा वैद्यखानाका उत्पादनले गति लिन नसकेको डा केसीको दाबी छ। बजारमा जुन औषधिको माग बढी छ, सोही अनुसार उत्पादन कार्य अगाडि बढाइएको उनले जानकारी दिए।
वैद्यखानामा लक्ष्यअनुसार काम गर्न नसक्नुमा अस्थिर नेतृत्वको अस्थायी व्यवसायिक योजना,गठनादेश संशोधनमा गम्भिर त्रुटि, कुशल र दक्ष जनशक्तिको अभाव, ३० वर्ष पुराना औजार उपकरण लगायतको समस्या रहेको निर्देशक डा केसी बताउँछन्।
यद्यपि चूर्ण भष्म र ट्याब्लेट औषधीलाई जिएमपी उत्पादन ढाँचामा लैजाने,च्वनप्राश गुग्गुलु र अन्य अबलेह औषधिको लागि सुधारिएको चुल्हो निर्माण तथा २०७५ सालदेखि नवीकरण हुन नसकेका कम्तीमा ८० वटा औषधीको बिक्री अनुज्ञापत्र नवीकरण लगायतका भावी योजना सिंहदरबार वैद्यखानाको रहेको उनले बताए।