हरेक वर्षझैं यस वर्ष पनि अगस्ट महिनाको १ देखि ७ तारिख (तदनुसार साउन १६ देखि २२) सम्म 'स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं' भन्ने नारासहित विश्व स्तनपान सप्ताह मनाइँदैछ। यो सप्ताहमा आमालाई स्तनपानको महत्त्वबारे जानकारी दिँदै, स्तनपानमा उत्प्रेरित गरी आफ्ना शिशुलाई ६ महिनासम्म प्रचुर मात्रामा र कम्तीमा २ वर्षसम्म नछुटाई स्तनपान गराउन सघाउने जनस्वास्थ्य अभियानका रूपमा मनाइनेछ। यस अवसरमा विश्वभरिका घरपरिवार, स्वास्थ्यकर्मी, समाजका सबै तप्काबाट सुत्केरी आमालाई स्तनपानमा प्राथमिकता दिँदै सहयोगी वातावरण निर्माण गर्न विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघीय बालकोषलगायतका संस्थाले आह्वान गरेका छन्।
उद्देश्य : यस सप्ताहको मुख्य उद्देश्य स्तनपानलाई आपसी जानकारी, उत्प्रेरणा, सहयोगको भावना स्थापित गरी विश्वभरिका शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्न आमालाई सघाउनु हो।
स्तनपान : शिशु जन्मनासाथ एक घण्टाभित्रै आमाको स्तनबाट आउने पहिलो पहेँलो दूध (बिघौती) खुवाउनु नै स्तनपान हो। शिशुले मागेअनुसार तथा आमालाई महसुस नभएसम्म कम्तीमा ६ महिनासम्म २४ घण्टै आमाको दूध मात्र चुसाउनु ‘प्रचुर मात्रामा स्तनपान’ मानिन्छ।
ऐतिहासिक पृष्ठभूमि : सन् १९९१ मा सरकारका नीतिनिर्माता, विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघीय बालकोष तथा अन्य संस्थाहरूले स्तनपानको प्रवर्द्धन, सुरक्षा एवं सहयोग गर्ने सम्झौता गरेपछि सन् १९९२ देखि हरेक वर्ष अगस्ट १–७ सम्म स्तनपान सप्ताह मनाउन थालिएको हो। सन् २०१८ मा विश्व स्वास्थ्य महासभाले स्तनपान सप्ताहलाई स्तनपान प्रवर्द्धनको महत्वपूर्ण रणनीति मानेर अनुमोदन गरेको हो।
वर्तमान अवस्था : विश्वभर ५ जना बालबालिकामध्ये ३ जनाले जन्मेपछि एक घण्टाभित्र स्तनपान गर्न पाएका छैनन्। कुपोषणका कारण वर्षेनि विश्वभर ४५% बालबालिकाको मृत्यु हुने गर्छ। स्तनपानको प्रभावकारी प्रवर्द्धन गरेमा हरेक वर्ष विश्वभरका करिब ९ लाख ५ वर्षमुनिका बालबालिकालाई बचाउन सकिन्छ र उनीहरूको बौद्धिक क्षमतामा वृद्धि भई आयआर्जन क्षमतामा समेत सुधार हुनसक्छ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा जन्मेपछि एक महिनासम्म ७०%, ५ महिनासम्म ५६%, र ६ महिनासम्म ३६% शिशुले मात्र प्रचुर मात्रामा स्तनपान पाएका छन्। यसका कारण बालबालिकाको पोषण स्तर निकै कमजोर देखिएको छ।
स्तनपानको महत्त्व : स्तनपान शिशुका लागि पोषिलो, सुरक्षित र सम्पूर्ण वृद्धि-विकासका लागि आवश्यक सबै पोषक तत्वयुक्त आहार हो। यो उनीहरूको शक्तिको सर्वोत्तम स्रोत हो। स्तनपानले शिशुलाई संक्रमण, मधुमेह, क्यान्सरलगायत दीर्घरोगबाट जोगाउँछ भने उमेर बढेसँगै दम, मोटोपन जस्ता स्वास्थ्य समस्या पनि न्यून हुन्छन्।
स्तनपानले दाँत, बोली र सम्पूर्ण शारीरिक वृद्धि- विकासमा राम्रो प्रभाव पार्छ। मृत्यु जोखिम समेत कम हुने भएकाले स्तनपानलाई ‘अमृत’ वा ‘पहिलो खोप’ समेत भनिन्छ। त्यस्तै, आमालाई पाठेघर खुम्च्याउन मद्दत गरी रक्तस्राव कम गर्छ, स्तन र गर्भाशयको क्यान्सर, मधुमेह, सुत्केरीपछिको मानसिक समस्याबाट जोगाउँछ र आमा-शिशुबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ।
स्तनपानका फाइदाहरू
१. आमाको दूध नै नवजात शिशुका लागि सर्वोत्तम पोषिलो खाना हो।
२. स्तनपानले शिशुलाई झाडा, निमोनिया, कानको संक्रमण, टाइप–१ मधुमेह, आकस्मिक मृत्यु जस्ता रोगबाट बचाउँछ।
३. आमाको दूधमा सम्पूर्ण पोषण हुने हुँदा अन्य कृत्रिम दूध आवश्यक पर्दैन।
४. गर्भावस्थामा मधुमेह भएका आमाले पनि ६ महिना स्तनपान गराउँदा शिशुको स्वास्थ्यमा सुधार आउँछ।
५. स्तनपानले शिशुको बौद्धिक क्षमता वृद्धि गर्छ। अध्ययन अनुसार आमाको दूध पाएका शिशुको दीर्घकालीन बौद्धिक र शैक्षिक स्तर उच्च हुन्छ।
स्तनपान प्रवर्द्धन र समस्या
अझै पनि धेरै गर्भवती तथा सुत्केरी महिलाहरूमा चेतनाको अभाव, पारिवारिक तथा सामाजिक परम्परागत भ्रमका कारण स्तनपानको महत्त्वबारे ज्ञान छैन। जन्मपछि शिशुलाई घिउ, मह, चिनी दिने जस्ता हानिकारक परम्परा जीवित छन्। कामलाई प्राथमिकता, स्तन कम भएको बहाना, शिशुलाई अरु सुत्केरी महिलाबाट चुसाउने चलन, गलत तरिकाले स्तनपान गराउने अभ्यास, बढ्दो शहरीकरण र कृत्रिम दूधको उपलब्धता जस्ता कारणले स्तनपानको अभ्यास कमजोर हुँदै गएको छ।
शिशुले स्तनको मुन्टो (निप्पल) मात्र होइन, वरिपरिको कालो भागसम्म मुखभित्र लिइरहनुपर्ने हुन्छ। गलत अभ्यासले शिशुलाई सास फेर्न गाह्रो भई मृत्युसमेत हुन सक्छ।
सरकारी प्रयास
नेपाल सरकारले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुमा कानुनी प्रतिबन्ध लगाए पनि कार्यान्वयन कमजोर छ। परिवार कल्याण महाशाखाको पोषण कार्यक्रम प्रभावकारी छैन। युएसएआइडी/सुआहारा कार्यक्रमले अपेक्षित सुधार ल्याउन सकेको छैन। स्तनपान कक्ष स्थापना भए पनि कतै बन्द छन्, कतै सञ्चालनमा छैनन्।
स्तनपान प्रवर्द्धन अभियान
१. जानकारी गराऔं - महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय संस्था, स्वास्थ्यकर्मीले सही तरिकाले स्तनपान गराउनेबारे आमालाई जानकारी गराउनुपर्छ।
२. उत्प्रेरित गरौं - सुत्केरीलाई पोषिलो आहार, तालिम, कार्यकक्षमा स्तनपान कक्ष स्थापना, आवश्यक विदा दिई स्तनपानमा उत्प्रेरित गर्नुपर्छ।
३. सङ्लग्न गराऔं - तीनै तहका सरकारको समन्वयमा समुदायस्तरमै अभियान चलाइ स्तनपान प्रवर्द्धन गर्नुपर्छ।
४. अभ्यास स्थापित गरौं - स्थानीय तहले स्तनपान सप्ताह मनाउने परम्परा बसाल्नुपर्छ। स्तनपान गराउने आमालाई पुरस्कृत गरिनुपर्छ।
५. प्रतिस्थापन पदार्थमा प्रतिबन्ध - कृत्रिम दूधको बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाई कडा अनुगमन गरिनुपर्छ।