काठमाडौं- अर्थ मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट र जनशक्ति लगायतका विषयमा छलफल भएको छ।
अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसहितको सहभागीमा दुवै मन्त्रालयका सचिव र कर्मचारीहरु राखेर बजेट, जनशक्ति र स्वास्थ्यका नयाँ कार्यक्रमका विषयमा छलफल भएको हो।
छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेको थप दरबन्दीका विषयमा अर्थ मन्त्रालय सकारात्मक देखिएको छ। तर अर्थले उक्त दरबन्दी थपका विषयमा थप परामर्श भने आवश्यक रहेको कुरामा जोड दिएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा २०४८ साल यता दरबन्दीहरु नथपिएको र त्यसयता देशको जनसंख्या बढेको, रोगको भारहरु थपिँदै गएको, जटिलखालका रोगहरुको उपचारका लागि प्रदेशमा सेवा विस्तार गर्दै अगाडि बढ्नु पर्ने अवस्था रहेकाले तत्कालै जनशक्ति थपिनु पर्ने विषयमा जोड दिएका थिए।
स्वास्थ्य मन्त्री पौडेलको कुरामा अर्थ मन्त्री सकारात्मक देखिँदै डाक्टर, नर्स लगायतका प्राविधिक जनशक्तिहरु थप्ने र प्रशासनिक दरबन्दीका विषयमा थप छलफल गर्ने भनाइ राखेको छलफलमा सहभागि एक कर्मचारीले जानकारी दिए।
'उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्सलगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने विषय राख्नुभएको छ,' ती कर्मचारीले भने।
छलफलका स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको थियो।मन्त्रालयले केही समयअघि २१ सय २ जना जनशक्ति थप गर्ने प्रस्ताव अर्थमा पठाएको थियो। अर्थले उक्त विषयमा थप खुलाइ पठाउन भन्दै केही प्रश्नहरु राखेर स्वास्थ्यमा पुन: पत्र पठाएको थियो। अर्थको जिज्ञासा अनुसारको जानकारी राखेर स्वास्थ्यले अर्थमा पत्र पठाइसकेको छ।
दुई मन्त्री र कर्मचारीसहितको सोमबारको छलफलमा स्वास्थ्य बीमा कार्यक्रम, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निःशुल्क औषधि, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डीपीआर, जलन लगायतका विषय पनि उठेका छन्।