काठमाडौं- जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका क्लिनिक तथा औषधि पसलहरुमा अनुगमन गरेको छ।
सोमबार उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका भित्रका औषधी पसल तथा मेडिकलहरुमा अनुगमन गरेको हो । अनुगमन टोलीले स्थानीय पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रा.लि., दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको थियो । उनीहरुलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो।
अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा संचालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रुपमा मापदण्डविपरीत संचालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए।
अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो। अनुगमनका क्रममा पाइएका म्याद समाप्त भएका औषधीहरु अनुगमन टोलीले जफत गरेको छ।
उदयपुरमा सञ्चालित धेरै मेडिकहल मापदण्डविपरीत संचालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन थालिएको हो । उनले जिल्ला भित्रका सबै मेडिकलहरुमा अनुगमन गरिने समेत बताए। अनुगमन टोलीले मापदण्डविपरीत संचालित धेरै मेडिकल हललाई तत्काल मापदण्ड अनुसार सञ्चालन गर्न सुझाव समेत दिएको छ।