काठमाडौं- नेकपा एमालेले इन्द्रबहादुर बानियाँको नेतृत्वमा बन्ने बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको छ। एमालेको भागमा परेका ६ मन्त्रालयका लागि मन्त्रीको नाम गरिएको छ, जसमा एकजना पुरानै अनुहार दोहोरिएका छन् भने बाँकी पाँच जना नयाँ छन्।
पुनः नियुक्त हुने एकमात्र मन्त्री स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका किरण थापामगर हुन्। उनी पुनः बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रूपमा नियुक्त हुने भएका छन्।
एमालेले अन्य मन्त्रालयमा नयाँ अनुहारहरू अघि सारेको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी काठमाडौंका जयराम थापालाई दिइएको छ भने वन तथा वातावरण मन्त्रालय दोलखाका भरतबहादुर केसीलाई दिइने भएको छ। त्यस्तै, कृषि तथा पशुपन्छी विकास मन्त्रालय ललितपुरका मधुसुधन पौडेलले सम्हाल्ने छन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय काठमाडौंका डा. दिनेशचन्द्र देवकोटाको जिम्मामा जाने भएको छ भने उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय काठमाडौंकी विन्दु श्रेष्ठको भागमा परेको छ।
यसैबीच, मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामापछि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री बन्ने निश्चित भएको छ। पार्टीको आन्तरिक दबाबपछि पूर्वमुख्यमन्त्री लामाले राजीनामा दिएका थिए। बानियाँ कांग्रेस संसदीय दलको नेता चयन भइसकेका छन्।
नयाँ सरकार गठनसँगै बागमती प्रदेशमा सत्ता समीकरण फेरबदल भएको छ भने एमालेका नयाँ मन्त्रीहरूसँग सरकारको कार्यसम्पादनप्रति चासो बढेको छ।