धनगढी- कञ्चनपुरकी ३५ वर्षीया एक महिला धनगढीस्थित संजीवनी अस्पतालमा उपचाररत रहँदा एकैपटक डेंगु, स्क्रब टाइफस, मलेरिया, लेप्टोस्पायरोसिस, ब्रुसेलोसिस र दुवै फोक्सोमा निमोनियाजस्ता ६ वटा गम्भीर सङ्क्रमणबाट निको भएकी छन्। यति धेरै सङ्क्रमण एउटै व्यक्तिमा देखिनु निकै दुर्लभ मानिन्छ।
दश दिनदेखि लगातार उच्च ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र अत्यधिक कमजोरीको लक्षणसहित उनी संजीवनी अस्पताल आएकी थिइन्। प्रारम्भिक परीक्षणमा डेंगु, स्क्रब टाइफस र ब्रुसेलोसिस पुष्टि भयो। तर लक्षणहरू झन् जटिल हुँदै गएपछि अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सुमन चौधरीको नेतृत्वमा मलेरिया लगायत अन्य परीक्षणहरू गरिएको थियो।
थप परीक्षणपछि डेंगु, स्क्रब टाइफस र ब्रुसेलोसिससँगै मलेरिया र लेप्टोस्पायरोसिस पनि पुष्टि भयो। यी सबै रोग लामखुट्टे, किराहरू वा जनावरबाट सर्ने उष्णदेशीय सङ्क्रमण हुन्। यिनको पुनः पुष्टि गर्न नमूनाहरू जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
प्रारम्भिक रगत परीक्षणमा रगतको मात्रा कम थियो, कलेजो र अन्य अंगमा समेत असर देखिएको थियो। छातिको एक्स-रेमा दुवै फोक्सोमा निमोनिया देखिएको थियो।
'यो हाम्रो उपचार इतिहासमै सबैभन्दा जटिल र दुर्लभ केसमध्ये एक हो,' डा. सुमन चौधरीले भने, 'यस्ता बहु-सङ्क्रमणमा लक्षणहरू मिल्दाजुल्दा हुने हुँदा सटीक निदान गर्न कठिन हुन्छ। औषधिहरूले एकअर्कामा प्रतिक्रिया गर्न सक्ने भएकाले उपचारमा सावधानी जरुरी हुन्छ।'
उनका अनुसार चिकित्सकहरूको टोलीले बहु-औषधीय उपचार योजना सुरु गर्यो। बिरामीको अंगहरूको कार्य क्षमता, निर्जलीकरण तथा श्वासप्रश्वासमा समस्या नआओस् भनेर निरन्तर निगरानीमा राखियो।
'विस्तृत परीक्षण र टोलीको समन्वयमा गरिएको उपचारकै कारण बिरामीको अवस्था सुधार हुँदै गयो,' डा. चौधरीले बताए, 'अहिले बिरामीको अवस्था स्थिर छ र केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको छ।'
डा. चौधरीले वर्षायाममा लामखुट्टे तथा पानीबाट सर्ने रोगको जोखिम बढ्ने भएकाले सतर्क रहन सबैलाई सुझाव दिए। झुल प्रयोग गर्न, पूरै बाहुला भएको लुगा लगाउन, वरिपरि सरसफाइ गर्न, उमालिएको वा फिल्टर गरिएको पानी पिउन, र ज्वरो वा कमजोरी देखिएमा स्वास्थ्य संस्थामा तुरुन्त जान उनले आग्रह गरे।
बिरामी र उनका परिवारले संजीवनी अस्पतालका सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई आभार व्यक्त गरेका छन्।
'यो त मेरो दोस्रो जीवनजस्तै लाग्यो,' ती महिलाले दै भनिन्, 'मलाई बचाउन दिनरात खटिने सम्पूर्ण डाक्टर र नर्सहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।'