काठमाडौं - रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्षिप्त सूची सार्वजनिक गरेको छ। हरेक प्रतिष्ठानका लागि १० भन्दा बढी आवेदन परेकोमा ६-६ जनाका दरले सूची सार्वजनिक गरिएको हो। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच भागबन्डा मिलेपछि मात्रै संक्षिप्त सूची सार्वजनिक भएको स्रोतले जनाएको छ।
सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्राप्त गरेको छ। बुझिएअनुसार पाटनमा एमालेले प्राडा बुद्धि प्रसाद पौडेललाई उपकुलपति बनाउने तयारी गरिएको छ। प्रतिष्पर्धामा प्राडा गेहनाथ बराल, डा. दिपक थापा मगर, प्राडा पवन कुमार शर्मा, प्राडा बिष्णु प्रसाद शर्मा र प्राडा श्रीजना श्रेष्ठ प्रतिष्पर्धामा छन्।
एमालेकै भागमा परेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमाले नेताहरुमै आफूनिकट बनाउने प्रतिष्पर्धा छ । त्यहाँ प्राडा चण्डिका पण्डित र प्राडा भरत बहादुर खत्रीमध्ये एउटा बनाउनुपर्ने ब्रिफिङ एमालेनिकट चिकित्सकहरुले प्रधामन्त्री केपी शर्मा ओलीसमक्ष गरेका छन्।
तर, पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गण्डकी प्रदेशका प्रभावशाली एमाले नेता खगराज अधिकारी प्राडा विधानिधि पौडेलको पक्षमा लबिइङ गरिरहेको बुझिएको छ। पोखराको उपकुलपतिको लागि प्रतिष्पर्धामा प्रा.डा. नारायण सिंह गुरुङ्ग, प्राडा अर्जुन आचार्य र प्राडा माया लामा समेत रहेका छन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति छनोट प्रक्रिया रोचक मोडमा पुगेको छ। एमालेले प्राप्त गर्दा उपकुलपति बनाउन खोजिएका प्राडा सञ्जिव शर्मा सर्टलिस्टमै परेनन्। त्यसबाट पनि उक्त प्रतिष्ठानमा कांग्रेस निकट नै आउने पक्का भएको छ।
कांग्रेसनिकट चिकित्सकहरुमा प्राडा रामेश राज कोइराला, प्रा.डा. रोहित प्रसाद यादव र प्रा.डा. प्रहलाद कार्कीबीच तीव्र प्रतिष्पर्धा देखिएको छ। सामाजिक सञ्जाल ट्विटरका सक्रिय प्रयोगकर्ता समेत रहेका प्रा.डा. कोइरालाको ‘टिप्पणी’का कारण कांग्रेस सभापति शेरबहादुर देउवा बेखुश रहेको बुझिएको छ। तर, महामन्त्री गगनकुमार थापा र वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल प्राडा कोइरालासँग सकारात्मक छन्।
सभापति देउवाले प्राडा कोइरालालाई रोक्न हस्तक्षेप नै गरेको खण्डमा प्राडा कार्की र प्राडा यादवमध्ये एक उपकुलपति बन्नेछन्। जसका विषयमा सभापति देउवा सकारात्मक रहेको बुझिएको छ। प्रतिष्ठानको उपकुलपतिका लागि प्राडा कृष्ण कुमार राई, प्राडा पशुपति चौधरी र प्राडा बिक्रम प्रसाद श्रेष्ठ पनि संक्षिप्त सूचीमा छन्।
कर्णाली कांग्रेसको भागमा परेको छ। सह प्राडा डबल बहादुर धामी र सह प्राडा पुजन कुमार रोकायाको सम्भावना बढी छ। सह प्राडा एलिजा श्रेष्ठ, डा. पवन जंग रायमाझी र प्राडा श्रीकृष्ण गिरी समेत प्रतिष्पर्धामा देखिएका छन्।