चितवनमा राष्ट्रियस्तरको खुल्ला स्नातक तहको जनस्वास्थ्य क्विज हुँदै
चितवन- चितवन मेडिकल कलेजअन्तर्गतको जनस्वास्थ्य बिध्यार्थी क्लबको आयोजनामा राष्ट्रियस्तरको स्नातक तहको खुल्ला जनस्वास्थ्य हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी भदौ ७ गते भरतपुर -५ कैलाशनगर स्थित चितवन मेडिकल कलेज परिसरमा हुने क्लबले जनाएको छ।
क्लबकी अध्यक्ष प्रत्युसा बुढाका अनुसार प्रतियोगितामा जनस्वास्थ्य स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले तीन–तीन जनाको समूह बनाई सहभागिता जनाउन सक्नेछन्। कलेजका जनस्वास्थ्य संयोजक देवराज रेग्मीका अनुसार नेपालभरीका जनस्वास्थ्य स्नातक तहको कुनै पनि वर्षमा अध्ययनरत विद्यार्थीहरूले कम्तीमा तीन जनाको टोली बनाई बढीमा पाँच समूहसम्म दर्ता गर्न सक्नेछन्। टोली दर्ताका लागि सदस्यहरूको नामसहितको सिफारिसपत्र अनिवार्य गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रथम हुने समूहलाई २५ हजार, द्वितीयलाई १५ हजार, र तृतीय समूहलाई १० हजार रुपैयाँ पुरस्कार दिने आयोजकको तयारी छ।
सहभागी सबै समूहलाई प्रमाणपत्र प्रदान गरिनेछ।
“विद्यार्थीहरूबीच जनस्वास्थ्यसम्बन्धी ज्ञान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो,” संयोजक रेग्मीले जानकारी दिएका हुन ।
इच्छुक समूहले श्रावण मसान्तभित्र अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ। दर्ता प्रक्रिया क्यूआर कोडमार्फत अनलाइन फाराम भरी गर्न सकिने क्लबले जानकारी दिएको छ।