काठमाडौं – नेपालमा दिनप्रतिदिन बढ्दो क्रममा रहेको नसर्ने रोगको नियन्त्रणका लागि नीतिगत हस्तक्षेप अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेपाल एनसीडी एलायन्सको आयोजनामा बुधबार काठमाडौंमा सम्पन्न मिडिया एडभोकेसी कार्यशालामा वक्ताहरूले पछिल्ला वर्षहरूमा देशमा कुल मृत्युमा नसर्ने रोगको हिस्सा तीव्र रूपमा बढिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताएका हुन्।
ग्लोबल बर्डेन अफ डिजिजको प्रतिवेदन अनुसार सन् २०१० मा कुल मृत्युमध्ये ५१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएका थिए भने सन् २०१९ सम्म आइपुग्दा यो संख्या ७१.१ प्रतिशत पुगेको उल्लेख गरिएको छ। विज्ञहरूका अनुसार पछिल्लो छ वर्षमा यो प्रतिशत अझै बढेको अनुमान गरिएको छ।
कार्यशालामा बोल्दै नेपाल एनसीडी एलायन्सका सहअध्यक्ष शान्तालाल मुल्मीले सञ्चारमाध्यम र सञ्चारकर्मीले सुर्तीजन्य पदार्थ नियन्त्रण, मादकपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिविरुद्ध जनचेतना फैलाउँदै प्रभावकारी भूमिका खेलेको उल्लेख गरे।
एलायन्सका महासचिव किशोरकुमार प्रधानाङ्गले नेपालमा एनसीडीको अवस्थाबारेमा विवरण प्रस्तुत गर्दै संगठनका गतिविधिहरूको जानकारी दिए। संस्थापक सदस्य शिव श्रेष्ठले मिडिया एडभोकेसी कार्यशालाको औचित्यबारे प्रकाश पार्दै स्वास्थ्य पत्रकारिताको प्रशंसा गरे।
कार्यशालामा दक्षिणपूर्वी एसिया क्षेत्रीय एनसीडी एलायन्सका सचिवालय प्रमुख डा. मनिता प्याकुरेलले ‘नसर्ने रोगको बढ्दो प्रवृत्ति’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरिन्। उनले धूमपान, मध्यपान, सुगरी ड्रिङ्स, अस्वस्थ भोजन, शारीरिक निष्क्रियता र प्रदूषणलाई प्रमुख जोखिम कारकका रूपमा चिनाउँदै रोकथामका उपायहरूबारे चर्चा गरिन्।
नेपाल हेल्थका सम्पादक रामप्रसाद न्यौपानेले सञ्चारमाध्यमले नसर्ने रोगविरुद्ध चलाएका जनचेतनामूलक अभियानका उदाहरणहरू प्रस्तुत गरे। त्यस्तै पत्रकार सरोज ढुंगेलले नीति निर्माण तथा कार्यान्वयनको अवस्थाबारे चर्चा गरे। पत्रकार अतुल मिश्रले नसर्ने रोगसम्बन्धी रिपोर्टिङ प्रवृत्तिबारेमा प्रस्तुति दिए भने प्रेस काउन्सिल सदस्य पदमराज जोशीले मिडिया इथिक्स र एनसीडीबीचको सम्बन्धबारे बोले।
कार्यशालामा स्वास्थ्य विटमा सक्रिय ३५ भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण एलायन्सकी कोषाध्यक्ष उत्तमा श्रेष्ठले गरेकी थिइन्।