काठमाडौं- नेपालबाट आर्थिक रूपमा कमजोर युवाहरूलाई फकाएर भारतमा लगेर मिर्गौला निकाल्ने एउटा संगठित गिरोहको पर्दाफास भएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले यो कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई काठमाडौं र काभ्रेबाट पक्राउ गरेको छ।
ब्युरोको टोलीले काठमाडौं र काभ्रेबाट २/२ जनालाई पक्राउ गरेको हो। ब्युरोको प्रारम्भिक अनुसन्धानबाट यो गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जना नेपाली युवाको मिर्गौला भारतको दिल्ली र नोएडामा निकालेको खुलेको छ।
ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार गिरोहले प्रत्येक व्यक्तिलाई ५ देखि ७ लाख रुपैयाँ दिने प्रलोभन देखाएर भारत पुर्याउने गरेका थिए। गर्थ्यो। आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई नै लक्षित गरी यो धन्दा चलाएको पाइएको छ।
पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन। तर, यो गिरोहको सञ्जाल देशभित्रका विभिन्न जिल्लाहरूमा फैलिएको हुनसक्ने अनुमान गरिएको छ। मिर्गौला निकालिएका केही व्यक्तिहरू प्रहरीको सम्पर्कमा आएपछि यो घटनाबारे थप अनुसन्धान अगाडि बढेको हो।
हाल पक्राउ परेका व्यक्तिहरूसँगको सोधपुछ र थप अनुसन्धानबाट गिरोहको सम्पूर्ण सञ्जाल र यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरिने एसएसपी पंगेनीले बताए।