काठमाडौं- युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’ को पहिलो सम्मेलन नेदरल्यान्डमा भएको छ।
नेदरल्यान्डको आमस्टर्डममा युरोपका विभिन्न १० वटा देशमा रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरु भेला भएका हुन्। उनीहरुको सम्मेलन शनिबार र आइतबार दुई दिनसम्म चल्ने छ। सम्मेलनको पहिलो दिन हिजो शनिबार भएको कार्यक्रमबाट नेपालको स्वास्थ्य क्षेत्रको सुदृढीकरणका लागि संयुक्त अभियान अगाडि बढाउने संकल्प सहभागीहरुले गरेका छन्।
दुइदिने सम्मेलनको पहिलो दिन युरोपमा रहेका नेपाली स्वास्थ्यकर्मीहरूको सञ्जाल र विशेषज्ञतालाई नेपालको स्वास्थ्य प्रणालीमा प्रत्यक्ष उपयोग गर्ने योजना पनि सार्वजनिक गरिएको छ। उक्त योजनाका विषयमा सम्मेलनमा सहभागी सबैले प्रशंसा गरेका छन्।
सम्मेलनमा क्लिनिकल, वैज्ञानिक र प्रविधिमूलक विभिन्न कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। युरोपमा कार्यरत नेपाली चिकित्सकहरूले स्वास्थ्य क्षेत्रका नयाँ प्रवृत्ति, चुनौती र सम्भावित समाधानका उपायहरूबारे गहिरो छलफल गरिरहेको सोसाइटीका सदस्यहरुले जानकारी दिएका छन्।
शनिबार आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि युरोपेली संघ र बेनेलक्स राष्ट्रहरूका लागि नेपाली राजदूत सेवा लम्सालले ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’ ले छोटो समयमा प्राप्त गरेको सक्रियता र उपलब्धिका लागि प्रशंसा व्यक्त गरिन्। उनले नेपाल र युरोपबीच स्वास्थ्य सहकार्यका लागि नेपाली दूतावासको पूर्ण सहयोग रहने आश्वासन पनि दिइन्।
सोसाइटीका अध्यक्ष डा विनय श्रेष्ठको अध्यक्षतामा भइरहेको कार्यक्रममा स्वास्थ्य क्षेत्रका विविध विषयमा डाक्टरहरूले विभिन्न सत्रमार्फत छलफल गरिरहेका छन्।कार्यक्रममा युरोपका विभिन्न देशका अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
सम्मेलनमा विभिन्न महत्त्वपूर्ण कार्यपत्रहरू प्रस्तुत गरिएका थिए। क्लिनिकल र वैज्ञानिक विषयमा प्रा.डा. गणेश आचार्य (स्विडेन), डा. दीपराज थापा (स्विडेन), लक्ष्मी बेलबासे (डेनमार्क) र डा. सागर धिताल (जर्मनी) ले कार्यपत्र प्रस्तुत गरे। त्यसैगरी, सूचना तथा प्रविधिसम्बन्धी विषयमा शशी श्रेष्ठ र दीपक पौडेल (स्विडेन) ले प्रस्तुति दिएका थिए।
सोसाइटीका अध्यक्ष डा. विनय श्रेष्ठले युरोपका नेपाली चिकित्साकर्मीहरूलाई संगठित गर्दै युरोपमा रहेका नेपालीहरूको स्वास्थ्यसम्बन्धी विभिन्न अनुसन्धानात्मक कार्य अगाडि बढाउने योजना रहेको बताए। साथै, नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्य र पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने उद्देश्य पनि सोसाइटीको रहेको उनले उल्लेख गरे। उनका अनुसार सोसाइटीले नेपाली स्वास्थ्यकर्मीहरूको व्यक्तिगत र पेसागत विकासमा समेत सक्रिय रूपमा काम गरिरहेको छ।
सम्मेलनमा प्रा.डा. गणेश आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को अवार्ड प्रदान गरिएको छ।
कार्यक्रममा सोसाइटीका उपाध्यक्ष डा. दीपराज थापाले स्वागत मन्तव्य दिएका थिए भने डा. सागर धितालले विगत एक वर्षमा सोसाइटीले गरेका कार्यहरूको प्रगति विवरण प्रस्तुत गरे।
यसैगरी, सम्मेलनले प्रा.डा. कौशल किशोर तिवारी (इटाली) र डा. राजु श्रीवास्तव (बेल्जियम) लाई सोसाइटीको नयाँ कमिटी सदस्यका रूपमा चयन गरेको थियो।