काठमाडौं- युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’ को पहिलो सम्मेलनले प्राडा गणेश आचार्यलाई सम्मान गरेको छ।
युरोपमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मेलनमा प्राडा आचार्यलाई ‘नेप्लिज हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को अवार्ड प्रदान गरिएको हो। सोसाइटीले पहिलो पटक आयोजना गरेको सम्मेलनमा प्राडा आचार्यलाई सम्मान गरेको हो। सोसाइटीले यस प्रकारको सम्मान कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने योजना बनाएको छ।
युरोपेली संघ र बेनेलक्स राष्ट्रहरूका लागि नेपाली राजदूत सेवा लम्साल र ‘सोसाइटी अफ नेप्लिज हेल्थ प्रोफेसनल्स इन युरोप’ का अध्यक्ष डा विनय श्रेष्ठले संयुक्त रूपमा प्राडा आचार्यलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।
सन् १९८७ मा युक्रेनबाट एमडी उपाधि हासिल गरेका आचार्यले त्रिभुवन विश्वविद्यालयसहित बेलायत, अमेरिका, स्विडेन, नर्वे र चीनका विभिन्न विश्वविद्यालयहरूबाट चिकित्सासम्बन्धी उच्चस्तरीय अध्ययन तथा विविध डिग्रीहरू प्राप्त गरेका छन्। हाल उनी नर्वेको आर्कटिक विश्वविद्यालयमा प्राध्यापन र स्विडेनको कारोलिन्स्का टिचिङ अस्पतालमा सिनियर कन्सल्ट्यान्टका रूपमा कार्यरत छन्।
डा आचार्य स्वीडेनको क्यारोलिन्स्का इन्स्टिच्युटमा स्त्रीरोग तथा प्रसूति विभाग प्रमुख र भिजिटिङ प्राध्यापक छन्। उनी सन् २००१ देखि नर्वेको उत्तर विश्वविद्यालय अस्पतालमा वरिष्ठ परामर्शदाता (सीनियर कन्सल्टेन्ट) को रूपमा कार्यरत छन्। सन् २००५ मा नर्वेमा चिकित्साशास्त्रमा पीएचडी हासिल गरेका डा आचार्य हाल नर्वेको आर्कटिक विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र निर्देशनमा पनि सक्रिय छन्।
सम्मानपछि डा आचार्यले यो सम्मानले आफ्नो मेहनत र समर्पणलाई थप प्रोत्साहन दिएको बताए। उनले भविष्यमा पनि अझ दृढताका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यो सम्मान केवल व्यक्तिगत उपलब्धि नभई युरोपमा रहेका नेपाली चिकित्सकहरूको सामूहिक प्रगतिको संकेत भएको बताए।