काठमाडौं- चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिमा 'टप थ्री' नाम सिफारिस गर्न सर्च कमिटीलाई ‘सकस’ परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले शुक्रबार नै अन्तर्वार्ता गरेपनि तीन जनाको नाम सिफारिस गर्न मुश्किल परेको स्वास्थ्य मन्त्रालयले स्रोतले बताएको छ।
शुक्रबार नै कुलपतिसमक्ष पठाउन तीन जनाको नामसूची तय गर्ने प्रयास समितिले गरेको थियो। राति ८ बजेसम्म छलफल गर्दा पनि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि तीन जनाको नाम टुंग्याउन सकेन। विशेषगरी मन्त्रालयको नेतृत्व समेत गरिरहेको नेपाली कांग्रेसबाट गुटैपिच्छे उम्मेदवार र त्यहीअनुसारको दबाब परेपछि समितिलाई अन्तिम तीनजनाको सूची बनाउन मुश्किल परेको हो। समितिले तीनजनाको नाम पठाएपछि तीमध्येबाट एकजनालाई कुलपतिले नियुक्ति गर्ने प्रावधान छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ४ जनाका लागि दबाब परेको छ। स्रोतका अनुसार बीपीका लागि समितिमाथि तीव्र दबाब परेका नामहरुमा प्राडा प्रल्हाद कार्की, प्राडा रोहित प्रसाद यादव, प्राडा विक्रम प्रसाद श्रेष्ठ र प्राडा रामेश कोइराला छन्। यी चारमा सभापति शेरबहादुर देउवाले आफूनिकट दुईमध्ये एकलाई रोज्न सकेका छैनन्। अन्य दुईमा एकजना कांग्रेस नेता तथा धरानका पूर्वउपकुलपति डा शेखर कोइराला र अर्को एकजना महामन्त्री गगन थापा तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल निकट मानिन्छन्।
‘प्राडा कार्की, प्राडा यादव र प्राडा कोइरालाको नाम राखेर पठाउने तयजस्तै थियो तर प्राडा श्रेष्ठलाई छाड्न नमिल्ने दबाबपछि रोकियो,’ स्रोतले भन्यो।
पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल, प्राडा सिर्जना शर्मा र प्राडा गेहनाथ बरालको नामको सूची तय भएको छ तर एउटा नाम तलमाथि हुनसक्ने बताइएको छ। प्राडा पौडेलको सम्भावना बढी रहेका कारण त्यहाँ अन्य प्रतिस्पर्धीले धरानजति दबाब दिएका छैनन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्री, प्राडा चण्डिका पण्डित, प्राडा माया लामा प्रारम्भिक सूचीमा छन्। प्राडा विधाननिधि पौडेललाई टप थ्रीमै राख्नुपर्ने दबाब एमालेको एक पक्षले गरेको छ तर उक्त दबाबले काम नगरेमा प्राडा खत्रीलाई उपकुलपति बनाउनेगरी तय सूची नै मन्त्रीपरिषद्मा पठाइने देखिन्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया, डा डबल बहादुर धामी, डा सूर्यमान म्याङयाङ्गो रहेको प्रारम्भिक सूची बनेको थियो तर डा पवनजंग रायमाझीलाई छाड्न नमिल्ने भन्दै त्यहाँ पनि दबाब कायम छ।
सुरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि एमाले-कांग्रेस दुवैले दाबी गर्दा प्रारम्भिक छनोट प्रक्रिया अड्किएको थियो। भागबन्डा मिलेपछि फेरि सुरु भएको छनोट प्रक्रिया नेताहरुको आफूनिकट व्यक्ति उपकुलपति बनाउने दबाबका कारण अल्झिएको छ।
सरकारले स्वास्थ्यमन्त्री पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य छन्।