ढाका- बंगलादेशमा रहेका नेपाली मेडिकल विद्यार्थीहरूको संस्था 'नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन'मा नयाँ नेतृत्व आएको छ। हालै एक समारोहबीच संस्थापक अध्यक्ष नवीन यादवले नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
नेतृत्व हस्तान्तरणसँगै संस्थाले महिला नेतृत्व पाएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा सदिक्षा भट्ट चुनिएकी छिन्। उनीसँगै महासचिवमा सिम्रन भट्टराई, संयुक्त सचिवमा अनुष्का अधिकारी, कोषाध्यक्षमा निहित भट्टराई र जनसम्पर्क संयोजकमा ऋतु चालिसे चयन भएका छन्।
नयाँ नेतृत्वलाई मार्गदर्शन गर्नका लागि डा स्तुती कार्कीको नेतृत्वमा एक निर्देशक समिति पनि गठन गरिएको छ। यसमा डा प्रज्वल सिंह राजपूत, डा सरिना पालिखे, डा सागर पाण्डे, डा समीक्षा अधिकारी र अञ्जल शर्मा छन्।
नेपाल दूतावास ढाकाका द्वितीय सचिव योजना बम्जनले प्रमुख अतिथिको रूपमा उपस्थित हुँदै डा यादवको नेतृत्वको प्रशंसा गरिन्। डा यादवको कार्यकालमा विद्यार्थीहरू एकजुट भई सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा गरेको प्रगतिको सराहना गर्दै नयाँ नेतृत्वलाई शुभकामना दिइन्।
समारोहमा एसोसिएसले पहिलोपटक आयोजना गरेको 'नेपाली फुड फेस्टिभल २०२५' मा सहभागी स्टलहरूलाई प्रशंसा पत्र पनि प्रदान गरियो। उक्त फेस्टिभलमा 'बेस्ट सेलिङ स्टल' को उपाधि अन्वर खाँ मेडिकल कलेजबाट डा सरिना पालिखेको नेतृत्वमा सञ्चालित स्टलले पायो।