काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३औँ सभा बैठक सुरु भएको छ। सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा, प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्र बस्नेत, अन्य पदाधिकारी, अनुसन्धानकर्ता तथा स्वास्थ्य शिक्षा क्षेत्रमा संलग्न विज्ञहरूको उपस्थितिमा बैठक सुरु गरिएको हो।
बैठकमा प्रतिष्ठानको वार्षिक प्रगति प्रतिवेदन, स्वास्थ्य शिक्षा तथा अनुसन्धानको वर्तमान अवस्था, भावी योजना र नीति सुधारका प्रस्तावहरूबारे छलफल भइरहेको छ। यसका साथै, गुणस्तरीय स्वास्थ्य शिक्षा प्रवर्द्धनका विषयमा पनि छलफल हुनेछ।
बैठकका प्रारम्भिक सत्रमा वक्ताहरूले देशको स्वास्थ्य शिक्षा र उपचार सेवामा न्याम्सको योगदानको प्रशंसा गर्दै, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्न निरन्तर अनुसन्धान, प्राविधिक नवप्रवर्तन र दक्ष जनशक्ति विकास अपरिहार्य रहेको उल्लेख गरेका छन्।
३३औँ सभाले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका लागि मार्गदर्शन दिने महत्वपूर्ण निर्णयहरू पारित हुने अपेक्षा गरिएको छ।