काठमाडौं — इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसन (इबरो)को सहयोग तथा न्युरो साइन्स सोसाइटी अफ नेपालको आयोजनामा पाँचौँ "न्युरोसाइन्स स्कूल नेपाल" नामक कार्यशाला सम्पन्न भएको छ। १ अगस्टदेखि ६ अगस्टसम्म सञ्चालन भएको कार्यक्रममा नेपालसहित भारत, जापान, चीन, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया लगायतका देशका ३० भन्दा बढी सहभागी उपस्थित थिए।
कार्यक्रमका संयोजक सन्दीप थापाका अनुसार कार्यशालामा न्युरोसाइन्ससँग सम्बन्धित अनुसन्धानकर्ता, क्लिनिसियन चिकित्सक, प्राध्यापक तथा विद्यार्थीहरूको सक्रिय सहभागिता थियो। सो अवसरमा न्युरोसाइन्सको उपचार तथा अनुसन्धानका विभिन्न पक्षबारे बृहत रूपमा छलफल गरिएको थियो।
६ अगस्टमा सम्पन्न अन्तिम दिनमा न्युरो साइन्स सोसाइटी अफ नेपालको छैठौं वार्षिक सम्मेलन पनि गरिएको थियो। सम्मेलनको अन्तिम प्रस्तुतिका रूपमा सोसाइटीका महासचिव मुकेश कुमार झाले "अनुदान आवेदन" विषयमा आफ्नो विचार प्रस्तुत गर्दै नेपाल अल्पविकसित देशबाट विकासशील देशको सूचीमा सूचीकृत हुँदै गर्दा वैज्ञानिक अनुसन्धानलाई सरकारले क्रमशः प्राथमिकतामा राख्ने अपेक्षा व्यक्त गरे।
यसै क्रममा उनले स्नातक तहका विद्यार्थीलाई स्नायु विज्ञान अनुसन्धानमा आकर्षित गर्ने उद्देश्यले `मुकेश कुमार झा स्नायु विज्ञान अनुसन्धान वृत्ति´ घोषणा गरिएको जानकारी दिए। उक्त वृत्तिबाट प्रत्येक वर्ष एक जना स्नातक तहका विद्यार्थीलाई प्रारम्भिक अनुसन्धानका लागि १० हजार रुपैयाँ प्रदान गरिनेछ। उनले यो रकम सानो भए पनि यसले विद्यार्थीलाई अनुसन्धानतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा थप आर्थिक स्रोत जुटाउन सके वृत्तिको रकम र संख्या दुवै बढाउने योजना रहेको बताए।
कार्यक्रमका आयोजक तथा न्युरो साइन्स सोसाइटी अफ नेपालका अध्यक्ष डा. अजयजंग कुँवरका अनुसार यसअघि नेपालमा चार वटा यस्तै कार्यशाला सम्पन्न भइसकेका छन् र यसपटकको कार्यक्रम पाँचौँ संस्करण हो।