काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ३३ औँ सभा (सिनेट) बैठक सम्पन्न भएको छ। सोमबार बिहान बसेको बैठकले न्याम्सका विभिन्न प्रस्तावहरु पारित गरेको छ।
न्याम्स कार्यालयमा बसेको बैठकले चालु आर्थिक वर्षको आर्थिक, शैक्षिक, भौतिक तथा प्रशासनिक कार्यसँग सम्बन्धित प्रस्तावहरु पारित गरेको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छा, स्वास्थ्य सचिव डा विकास देवकोटा, न्याम्सका पदाधिकारी लगायतको सहभागिता थियो।
उपकुलपति प्राडा बस्नेतका अनुसार बैठकले न्याम्सको चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४ अर्ब १२ करोड रुपैयाँको बजेट पास गरेको छ।
यसका साथै सभाले भक्तपुरको दुवाकोटमा विस्तारित न्याम्स परियोजनाको डीपीआर बनाउने विषयमा सैद्धान्तिक रुपमा सहमति दिने निर्णय पनि गरेको डा बस्नेतले जानकारी दिए।
यसैगरी, बैठकले न्याम्सबाट विभिन्न विषय र विभिन्न तह उत्तीर्ण गरेका १७८ जनालाई आगामी दीक्षान्त समारोहमा उपाधि दिनका लागि ग्रेस लिष्टमा समावेश गर्ने, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको महंगी भत्ता समायोजन गर्ने, न्याम्सका शैक्षिक कार्यक्रम सञ्चालन भएका वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल, भरतपुर अस्पताल, कोशी अस्पतालहरुमा शिक्षक दरबन्दी थप गर्ने सम्वन्धी प्रस्ताव समेत पास गरेको उपकुलपति प्राडा बस्नेतले जानकारी दिए।