वीरगञ्ज– नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एक कैदीको मृत्यु भएको छ। उपचारका लागि अस्पताल लगेका ती कैदीको मृत्यु भएपछि अस्पताल परिसरमा आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्।
मृतकको आफन्तहरूले अस्पताल प्रशासन र चिकित्सकमाथि समयमा उपचार सेवा नदिएको र लापरवाहीको आरोप लगाउँदै अस्पताल बाहिर प्रदर्शन गरेका छन्।
जेल प्रशासनका अनुसार मृतक कैदी राहुल तुहारा बिहान जेलमा व्यायाम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक रहेको र त्यसका लागि अस्पतालमा सुविधा नभएको भन्दै अन्यत्र लैजान सिफारिस गरेको बताइएको छ।
तर, कैदीलाई अन्य अस्पतालमा लैजान जेल प्रशासनले अनुमति नदिँदा उपचारमा ढिलाइ भएको र सोही कारण मृत्यु भएको मृतकका आफन्तहरूको आरोप छ। उनीहरूले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
अस्पताल प्रशासनले भने कैदीलाई सक्दो उपचार गरिएको दाबी गर्दै थप उपचारका लागि तत्कालै रेफर गर्न सिफारिस गरिएको स्पष्ट पारेको छ। यस घटनापछि नारायणी अस्पताल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।