विराटनगर- कोशी प्रदेश सरकारले झापा विर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा एक जना मेडिकल अधिकृत खटाउने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश, विराटनगरबाट सोमबार जारी पत्रमा भद्रपुरस्थित प्रदेशिक अस्पतालमा कार्यरत आठौं तहका मेडिकल अधिकृतलाई २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी यातायात व्यवस्था कार्यालयमा कार्यरत हुन पठाइएको उल्लेख छ।
मन्त्रालयको २०८२ असार २५ गतेको निर्णयअनुसार सो व्यवस्था अर्को जिम्मेवारीका रूपमा भएको हो। यातायात कार्यालयमा खटाइएका चिकित्सकको तलबभत्ता स्वास्थ्य मन्त्रालयबाट नै व्यवस्था गरिने उल्लेख गरिएको छ।
पत्रमा यो निर्णयका बारेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, स्वास्थ्य सेवा विभाग, प्रदेशिक अस्पताल भद्रपुर, र आर्थिक प्रशासन शाखा, स्वास्थ्य मन्त्रालय लगायत सम्बन्धित निकायहरूलाई जानकारी गराइएको छ।
