काठमाडौं- कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपति नियुक्त गरेका छन्।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा प्राडा विक्रम प्रसाद श्रेष्ठ,पाेखरामा प्राडा भरत खत्री, पाटनमा प्राडा बुद्धि पौडेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा भरत बहादुर खत्री र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा पुजन कुमार रोकाया नियुक्त भएका हुन्।
चार उपकुलपतिमा तीनजना हाडजोर्नी तथा नशारोग विशेषज्ञ हुन्। एकजना इन्टरनल मेडिसिन विशेषज्ञ हुन्। बीपीका उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै लामो समयदेखि कारेयरत उनले अर्थोपेडिक्स विभागका प्रमुख र रेक्टरको रूपमा पनि काम गरिसकेका छन्।उनको मस्कुलोस्केलेटल डिस्अर्डरमा विशेष दक्षता छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरतबहादुर खत्री पनि हाडजोर्नी विश्षज्ञ हुन्। उनले अस्पताल निर्देशकका रुपमा ४ वर्ष काम गरिसकेका छन्। उनको नेतृत्वमा प्रतिष्ठानको अस्पतालमा विभिन्न नयाँ सेवाहरुको सुरुवात र सुधार भएका छन्।
त्यस्तै सह प्राडा पूजन कुमार रोकाया विगत १२ वर्षदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ हुन् । उनले अस्पताल निर्देशकका रुपमा पनि काम गरिसकेका छन्। टिचिङ अस्पताल, महाराजगञ्जबाट हाड जोर्नी तथा नशा रोग विषयमा स्नातकोत्तर उपाधि र जर्मनीको गटिङ्गेन विश्वविद्यालयबाट थप तालिम प्राप्त गरेका छन्।उच्च अध्ययनपछि जन्मथलोमै फर्किएका उनले जुम्लामा मात्र होइन, हुम्ला, मुगु, कालिकोट, डोल्पालगायत दुर्गम जिल्लामा पनि विशेषज्ञ सेवा विस्तार गरेका छन्।
प्राडा बुद्धिप्रसाद पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ आन्तरिक चिकित्सा विशेषज्ञ (इन्टरनल मेडिसिन) र नेपालका अग्रणी बाथरोग विशेषज्ञमध्ये एक हुन्। त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडलसहित एमबिबिएस र एमडी इन्टरनल मेडिसिन पूरा गरेका उनले इटलीको युनिभर्सिटी अफ क्याटानियाबाट क्लिनिकल इन्डोक्राइनोलोजी र क्यानडाको युनिभर्सिटी अफ टोरन्टोबाट एडल्ट र्युमटोलोजीमा क्लिनिकल फेलोशिप गरेका छन्।
स्वदेशमै रहेर स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा योगदान दिने उद्देश्यले उनले नेपालमै पहिलो दुई वर्षे र्युमटोलोजी फेलोशिप कार्यक्रम सुरु गरेका छन्। साथै, इन्टरनेशनल डायबिटिज फेडेरेसनको ‘लाइफ फर चाइल्ड’ कार्यक्रम नेपालमा भित्र्याएर सयौं टाइप १ मधुमेह बालबालिकालाई निःशुल्क उपचार सुविधा उपलब्ध गराएका छन्। तीन दशकभन्दा बढीको सेवा यात्रामा उनले पाटन अस्पतालका मेडिकल अफिसरदेखि उपकुलपतिसम्म बन्ने अवसर पाएका हुन्।