काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको स्वास्थ्य उपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो विचार राखेका हुन्।
विश्व स्वास्थ्य संगठनमा वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धित देशका रोजगारदाताले गर्नुपर्ने विषय उठाएको स्मरण गराउँदै डब्लुएचओको आगामी सभामा नेपालले यो विषय प्रस्ताव गर्ने बताए। उनले साढे १३ हजारले डयालाइसिस गर्दा ८ हजार वैदेशिक रोजगारीबाट फर्केका श्रमिक हुनेगरेको र अनौपचारिक तथ्यांक अनुसार ३० हजार जना डयालाइसिस गर्नेको संख्या रहेको र अधिकांस वैदेशिक रोजगारी गएका श्रमिक रहेकोले जसले काम लगाउछ त्यसैले उपचार गर्नुपर्ने डब्लुएचओमा प्रस्ताव लग्ने बताए।
मन्त्री पौडेलले विगतको तुलनामा नागरिकको स्वास्थ्य समस्या बढ्दै गएको तर राज्यले स्वास्थ्यलाई प्राथमिकता नदिएको आरोप लगाए। स्वास्थ्य बिमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले १० अर्ब मात्र छुट्याइएको बताउनु हुँदै योगदानमा आधारित स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनुपर्ने विचार राखे।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले रक्तदान केवल समाजप्रतिको जिम्मेवारी मात्र होइन, यो जीवन बचाउने महान कार्य हो। युवाहरूले यस प्रकारका सामाजिक कार्यमा अग्रसर हुनुपर्ने बताए।
वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की र महासचिव अजय राइले अन्तर्राष्ट्रिय युवा दिवस केवल उत्सव मात्र होइन, यो अवसर हो युवाहरूलाई समाज सेवामा सक्रिय बनाउन। यस वर्षको कार्यक्रममार्फत हामीले युवाको सामाजिक उत्तरदायित्वलाई थप सशक्त बनाउन सकेका जानकारी दिए।
कार्यक्रममा ५० जना भन्दा बढिले रक्तदान गरेका छन्
रक्तदान कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारको अध्यक्षतामा भएको थियो। युवा समितिले देशैभरी विभिन्न कार्यक्रम आयोजना गरि मनाएको सुनारले जानकारी दिए।