स्वास्थ्य सेवा भनेको केवल अस्पताल र उपचारसम्म सीमित होइन। रोग आउनु अघि नै रोकथाम गर्नु नै साँचो स्वास्थ्य सुरक्षा हो। नेपालजस्तो विकासोन्मुख देशमा, जहाँ स्रोत सीमित छन्, यदि जनस्वास्थ्य र रोकथाम सेवामा लगानी नगर्ने हो भने, हामी दीर्घकालीन विकास र समृद्धिको बाटोबाट टाढिँदै जानेछौं। रोगको जोखिम घटाउन र स्वस्थ समाज निर्माण गर्न हामी सबैले समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आवश्यक छ। यही सोच र क्रियाशीलताले मात्र नेपाललाई सशक्त, समावेशी र दिगो स्वास्थ्य प्रणालीको दिशामा अगाडि बढाउन सक्छ।
धारा फुटेको गाउँ
एक गाउँमा पानीको मुख्य धारा अचानक फुट्यो। पानी गाउँभरि बग्न थाल्यो।
गाउँका केही ज्ञानीहरू भेला भए। एउटा गाउँले डाक्टर दङ्ग पर्दै भन्यो,
"यो त राम्रो भयो! अब त ‘फोकाहुने’, ‘पानीमा बगरे हुनसक्ने समस्याका' बिरामीहरू धेरै आउनेछन्। अस्पतालमा काम बढ्नेछ, हाम्रो सेवाको मूल्य बढ्नेछ।"
अर्का व्यापारी हाँस्दै बोले, "म त काठका डुङ्गा बेच्छु, तेस्रो दिनमै धनी हुन्छु!"
त्यस बेलासम्म गाउँको एउटै बुढी आमा, जसले वर्षौं अघि गाउँमा हात धुने, सफा खानेपानी र रोग रोकथामको कुरा सिकाएकी थिइन्, चुपचाप एउटा बाल्टिन र कपडा लिएर धारा मर्मत गर्न गइन्।
गाउँका युवाहरूले सोधे, "आमा, किन यस्तो हतारमा धारा मर्मत गर्दै हुनुहुन्छ? बिरामी बढे भने त अस्पतालले उपचार गर्छ नि!"
आमाले मुस्कुराउँदै भनिन्, "म त रोग आउनै नदिने पक्षमा छु, किनकि बिरामी निको पार्नु भन्दा बिरामी नै नपार्नु सजिलो र सस्तो हो। अस्पताललाई काम दिनु राम्रो, तर गाउँलाई रोग दिनु मूर्खता हो।"
त्यसपछि मात्र गाउँलेहरूले बुझे—
"धारा फुटेको बेला डुङ्गा बनाउनेभन्दा धारा बन्द गर्ने मानिस नै साँचो नायक हो।
त्यसैगरी हाम्रो स्वास्थ्य प्रणालीमा पनि नायक भनेको जनस्वास्थ्य नै हो।"
जनस्वास्थ्य र निवारक स्वास्थ्य सेवाको महत्त्व बुझ्न गाह्रो छैन।
नेपालले दशकौँदेखि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ- १९५६ सालको मलेरिया उन्मूलन कार्यक्रमदेखि महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, स्वास्थ्य चौकी विस्तार, र संविधान २०७२ मार्फत स्वास्थ्यलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गर्नेसम्म। यी सबै उपलब्धिका केन्द्रमा जनस्वास्थ्य नै थियो, जसले रोग आउनु अघि नै रोक्ने, समुदायलाई सचेत पार्ने, र दीर्घकालीन स्वास्थ्य सुरक्षाको ढाल बन्यो।
तर अहिले केही नीति–निर्माता र सरोकारवालाहरू "स्वास्थ्य भनेको अस्पताल र उपचार मात्र हो" भन्ने संकुचित दृष्टिकोणमा अडिएका देखिन्छन्। यो सोच खतरनाक मात्र होइन, आर्थिक दृष्टिले पनि अल्पदृष्टि हो। अस्पतालले रोग निको पार्छ, तर जनस्वास्थ्यले रोग हुनै दिँदैन।
विश्वस्तरका तथ्यहरूले देखाउँछन्—
जनस्वास्थ्यमा गरिएको लगानीले १४ देखि २७ गुणासम्म प्रतिफल दिन्छ।
खोपमा गरिएको प्रत्येक १ रुपैयाँ खर्चले २१ रुपैयाँ उपचार खर्च बचत र ५४ रुपैयाँ उत्पादनशीलता वृद्धि ल्याउँछ।
कार्यस्थल स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा प्रत्येक १ डलरको लगानीबाट ३ डलर उपचार खर्च बचत र ५.८२ डलर अनुपस्थितिमा कमी हुन्छ।
नेपालको वर्तमान अवस्था हेर्दा—
कुल बजेटको ४.९% र जीडीपीको ०.१६% मात्र स्वास्थ्यमा खर्च हुन्छ, जसको सरकारी अंश २% भन्दा कम छ।
स्वास्थ्य खर्चको ५५–६०% परिवारकै खल्तीबाट निस्कन्छ, जुन डब्लुएचओको सिफारिस (१५–२०%) भन्दा धेरै बढी हो।
मृत्युको ७१% कारण असंक्रामक रोग (जस्तै मुटु रोग, मधुमेह, क्यान्सर) हुन्, जुन धेरै हदसम्म रोकथाम योग्य छन्।
महत्त्वपूर्ण प्रश्नहरू
के जनस्वास्थ्य बिना हामी कोभिड–१९ जस्तो महामारी नियन्त्रण गर्न सक्थ्यौँ?
के जनस्वास्थ्यको सक्रिय ट्र्याकिङ, क्वारेन्टिन, र स्वास्थ्य शिक्षा बिना अस्पतालहरूले बिरामीहरूको भार सम्हाल्न सक्थे?
कोलराको महामारीमा सफा पानी र हातधुने अभ्यास नहुँदा के संक्रमित दर यति छिटो घट्थ्यो?
बाढीपछिको सरसफाइ र संक्रमण नियन्त्रण नगरेको भए स्वास्थ्य अवस्था कस्तो हुन्थ्यो?
के असंक्रामक रोगहरू नियन्त्रणमा जनस्वास्थ्य कार्यक्रम बिना दीर्घकालीन सफलता सम्भव छ?
के बाल र मातृ मृत्यु दर घटाउन खोप र पोषण कार्यक्रम बिना सम्भव हुन्थ्यो?
यी ऐतिहासिक अनुभवहरूले स्पष्ट देखाउँछन्—जनस्वास्थ्य प्रणालीको सशक्तीकरणले नै आपतकालीन अवस्थाहरूमा देशलाई बचाएको छ।
विश्वका आवाजहरू
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस — “रोकथाम नै उत्कृष्ट लगानी हो।”
जनस्वास्थ्य विज्ञ फ्रान्कलिन ह्वाइट — “स्वास्थ्य मुख्यतया घर, समुदाय, र कार्यस्थलमै निर्माण हुन्छ… बिरामीको सानो अंश मात्र अस्पतालमा निको पार्न सकिन्छ।”
महामारी विज्ञ ज्योफ्री रोज — “जनसंख्या स्तरमा सानो मात्र जोखिम घटाइए पनि, उच्च जोखिम भएका केहीलाई मात्र उपचार गर्ने भन्दा धेरै रोग रोकथाम गर्न सकिन्छ।”
बेंजामिन फ्र्याङ्कलिन — “थोरै रोकथाम एक पाउन्ड उपचार बराबर हुन्छ।”
नेपाल संघीयतामा प्रवेश गरेपछि सम्भावना अपार छ, तर लगानी, दृष्टिकोण र प्रतिबद्धता बिना सम्भावना विफल हुन्छ।
यस कारण—
स्वास्थ्य बजेटको न्यूनतम १०% जनस्वास्थ्यमा सुनिश्चित हुनुपर्छ।
नीति निर्माणमा जनस्वास्थ्यको आवाज सशक्त हुनुपर्छ।
सार्वजनिक धारणा परिवर्तन गरेर स्वास्थ्य भनेको उपचार मात्र होइन, रोकथाम हो भन्ने बुझाउनुपर्छ।
यो मौन बस्ने समय होइन। आज हामी मौन बस्यौं भने जनस्वास्थ्य मात्र कमजोर हुने होइन, पुरै मेटिने खतरा छ।
आजैदेखि सबै जनस्वास्थ्यकर्मी एकजुट भई प्रमाण र तथ्यांकसहित नीति निर्माणमा संवाद गर्न, मिडियामा प्रभावकारी सन्देश पुर्याउन, र समुदायस्तरमा रोकथाम कार्यक्रम विस्तार गर्न आवश्यक छ।
जनस्वास्थ्यमा लगानी गर्नु केवल नैतिक दायित्व मात्र होइन—यो राष्ट्रको दीर्घकालीन समृद्धि र स्थायित्वका लागि अपरिहार्य रणनीति हो। एक सुदृढ जनस्वास्थ्य प्रणालीले रोगको रोकथाम, स्वास्थ्यमा समानता, र समयमै हस्तक्षेपलाई सुनिश्चित गर्छ, जसले दीर्घकालमा स्वास्थ्य प्रणालीमाथिको बोझ घटाउँछ र सरकारी खर्च बचत गर्छ।
जनस्वास्थ्य कार्यक्रमहरूले सरसफाइको अभाव, कुपोषण, प्रदूषण, र स्वास्थ्य शिक्षा नहुँदा हुने रोगका मूल कारणलाई सम्बोधन गर्दै दिगो विकास लक्ष्यहरू (SDGs) जस्तै सबैका लागि राम्रो स्वास्थ्य र जीवनस्तर, असमानता न्यूनीकरण, र दिगो समुदाय निर्माणमा महत्वपूर्ण योगदान दिन्छन्।
स्वस्थ जनसंख्या बढी उत्पादक हुन्छ, कम उपचारमा निर्भर हुन्छ, र आर्थिक वृद्धिका लागि सक्षम हुन्छ। दीर्घकालमा, प्रभावकारी जनस्वास्थ्य रणनीतिले न केवल जीवनस्तर सुधार गर्छ, तर रोग प्रकोप, श्रमशक्ति ह्रास, र स्वास्थ्य खर्च वृद्धिजस्ता संकटबाट राष्ट्रको अर्थतन्त्रलाई पनि जोगाउँछ।