काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो।
सिंहदरबारमा बिहीबार बसेको बैठकले हालसम्म एक सय सिट रहेको एमबीबीएसको सिलिङलाई बढाएर एक सय ३० सम्म र ५० सिट रहेको बिडिएसलाई ६० दिने निर्णय गरेको हो।
बैठकमा सहभागी एक सदस्यले दिएको जानकारी अनुसार मेडिकल कलेजहरुको पूर्वधार, फ्याकल्टी लगायतका मापदण्डहरु हेरेर एमबीबीएसमा बढीमा एक सय ३० र बीडीएसमा ६० सिटसम्म दिने निर्णय भएको छ।
'मेडिकल कलेजहरुको सिट बढ्ने निर्णय भयो,' ती सदस्यले भने, 'मापदण्डहरु पूरा भएका कलेजका हकमा मापदण्ड अनुसार नै सिट संख्या दिने निर्णय भएको हो।'
ती सदस्यका अनुसार सबैभन्दा बढी १३० सिट पाउने मेडिकल कलेजहरुमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस रहेका छन्। पोखराको मणिपालले १२० सिट पाएको छ।
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले मेडिकल कलेजको सिट र शुल्क नबढाउन चेतावनी दिँदै आइरहेका छन्।