काठमाडौं- चिकित्सा शिक्षा आयोगको २१औं बैठकले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहका विभिन्न विषयमा विद्यार्थी भर्नाका लागि सीट संख्या बढाउने निर्णय गरेको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले स्नातक तहमा १ हजार ३ सय ५९ सिट थप गर्ने निर्णय गरेको हो।
आयोगको बैठकले सबैभन्दा धेरै एमबीबीएसमा सिट थप गर्ने निर्णय गरेको छ।
स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय भएको छ। योसँगै अब एमबीबीएसको सिट संख्या २ हजार ६ सय ३५ पुगेको छ। यसअघि एमबीबीएसका लागि २ हजार १ सय ४० सिट थियो।
नर्सिङ तर्फ बीएस्सी र बीएनएससहित ५६२ सिट थप भएको छ। बीएस्सी नर्सिङमा ४४० सिट थप गर्ने निर्णय भएको छ। यसअघि बिएस्सी नर्सिङमा १ हजार ९ सय ९० सिट रहेकोमा अब उक्त संख्या बढेर २ हजार ४ सय ३० पुगेको छ।
बिएनएस तर्फ १२२ सिट थप भएको छ। बिएनएसमा यसअघि ९४० सिट थियो भने अब उक्त संख्या बढेर १ हजार ६२ पुगेको छ।
यसैगरी, बिपिएचमा ६२ सिट थप भएको छ। बिपिएचमा यसअघि ६५० सिट थियो भने अब उक्त संख्या बढेर ७१२ पुगेको छ।
बिफार्मेसीमा पनि १४० सिट संख्या बढेको छ।यसअघि ६९५ सिट रहेकोमा उक्त संख्या बढेर ८३५ पुगेको छ।
यसैगरी आयोगले बीएमएसको सिट संख्या भने घटाउने निर्णय गरेको छ। गत वर्ष एक सय सिट संख्या रहेको उक्त विषयमा ३५ सिट घटाएर अब ६५ सिट मात्र कायम भएको छ।
