काठमाडौं- चिकित्सा शिक्षा आयोगको बैठकले हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजले एमबीबीएसमा पहिलो पटक विद्यार्थी भर्नाका लागि सिट पाएका छन्।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल मेडिकल कलेजलाई एमबीबीएसका लागि ५०/५० सिट दिने निर्णय गरेको हो।
बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिएस्सी नर्सिङको सिट संख्या पनि थप गर्ने निर्णय गरेको आयोगका एक सदस्यले जानकारी दिए। प्रतिष्ठानमा हाल नर्सिङका लागि २० वटा सिट रहेको छ। बैठकले १० सिट थप गर्दै सिट संख्या ३० पुर्याकउने निर्णय गरेको ती सदस्यले जानकारी दिए।
प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवालीले पनि बैठकबाट एमबीबीएस सिट संख्या दिने निर्णय भएको भन्ने जानकारी आएको बताए।
'औपचारिक निर्णय त आइसकेको छैन। तर एमबीबीएसमा ५० र नर्सिङमा १० सिट थप भएको भन्ने जानकारी पाएको छु,' उनले भने।
पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजको शिक्षण अस्पतालमा रुपमा कोशी अस्पताललाई प्रयोग गर्ने विषयमा दुई वर्षअघि नै सम्झौता भएको थियो।
आयोगको बिहीबार बसेको बैठकले निजी मेडिकल कलेजहरुमा पनि एमबीबीएस लगायतका विषयमा सिट थप गर्ने निर्णय गरेको छ। आयोगले एमबीबीएसमा मात्र ४९५ सिट र नर्सिङमा ५६२ सिट थप गर्ने निर्णय गरेको छ।