रुकुम पश्चिममा दिनदहाडै एक व्यक्ति हातमा खुडा लिएर स्वास्थ्य चौकीमा पसे। उनी खुडा बोकेर नाच्न थाले, उपस्थित कर्मचारीहरू डरले स्तब्ध भए, न बोल्न सके, न भाग्न। एकछिनमा घटना समाप्त भयो तर कर्मचारीहरूको मनमा गहिरो चोट रह्यो।
'यहाँ आउनु बेकार भयो' भन्ने सोच उनीहरूको मनमा उम्रियो। यो एउटा उदाहरण मात्र हो, नेपालका धेरै बिकट क्षेत्रमा सेवा दिने कर्मचारीहरू दैनिकजसो यस्तै मानसिक र शारीरिक जोखिमसँग लडिरहेका हुन्छन्।
कोही रहरले, कोही बाध्यताले दुर्गम सेवा रोज्छन्, चाहे त्यो स्वास्थ्य सेवा होस्, शिक्षा, वा अन्य कुनै निजामती सेवा। तर स्वास्थ्य सेवा अरुभन्दा बढी संवेदनशील हुन्छ, किनकि यो सीधा जीवन–मरणसँग सम्बन्धित हुन्छ।
दुर्गम सेवा रोज्दा कर्मचारीले आफ्नो परिवार, शहरी सुविधा, सहज यातायात, राम्रो स्वास्थ्य उपचार र सामाजिक जीवन, यी सबैबाट केही समयका लागि टाढा बस्नुपर्छ। यस्तो अवस्थामा उनीहरूले पाउने सम्मान, सुविधा र सुरक्षा न्यून भए कर्मचारीको मनोबल घट्नु स्वाभाविक हो।
दुर्गममा खटिएका कर्मचारीको सुरक्षा, सुविधा र मनोबल बढाउने जिम्मेवारी सम्बन्धित कार्यालय प्रशासनको मात्र नभई स्थानीय सरकार र समुदायकै पनि हुन्छ। जसरी परिवारमा बच्चाको सुरक्षाको जिम्मा अभिभावकको हुन्छ, त्यस्तै, स्थानीय सरकारले पनि सेवा दिने कर्मचारीको सुरक्षामा 'अभिभावक' भूमिका निर्वाह गर्नुपर्छ।
तर, हाम्रो समाजमा अझै 'सरकार माथि' भन्ने मानसिकता बलियो छ। कतिपय ठाउँमा जनप्रतिनिधि वा प्रशासनसँग डरको सम्बन्ध बढी छ, सहयोगको भन्दा। यसबाट कर्मचारी–सेवाग्राहीबीच दूरी बढ्छ, अविश्वास बढ्छ, र अन्ततः सेवाको गुणस्तर घट्छ। जहाँ कर्मचारी खुसी र सुरक्षित हुन्छन्, त्यहाँ सेवाग्राही पनि सन्तुष्ट हुन्छन्। सेवा प्रभावकारी बनाउन सम्मान, सुरक्षाको प्रत्याभूति र सहयोगी वातावरण आवश्यक छ।
कर्मचारी पिटिनु, गालीगलौज, धम्की, वा परिवारसम्मलाई डर देखाउनु सामान्य कुरा होइनन्। आजको समयमा विद्यार्थीलाई पिट्नु पनि अस्वीकार्य मानिन्छ, तर केही ठाउँमा कर्मचारीलाई धम्की दिएर वा दवाबमा राखेर सेवा लिन सकिन्छ भन्ने गलत सोच अझै बाँकी छ।
विकट क्षेत्रमा “यो हाम्रो इलाका हो, बाहिरबाट आएकोलाई जे गरे पनि हुन्छ” भन्ने सोच भएका अलिकति व्यक्तिका कारण धेरै कर्मचारी मानसिक र शारीरिक रूपमा प्रताडित छन्। यो राज्यको दुर्भाग्य र प्रशासनिक कमजोरी हो।
अवश्य, कर्मचारीले आफ्नो दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ। कमजोरीको पहिचान गरेर सुधार गर्नुपर्छ। तर हिंसा कहिल्यै समाधान होइन, बरु दीर्घकालीन समस्या उत्पन्न गर्ने कारक हो।
गुणस्तरीय सेवा पाउन सुरक्षाको प्रत्याभूति आवश्यक छ। प्रहरी प्रशासन, स्थानीय सरकार, सम्बन्धित तह र कार्यालय प्रशासन, सबै एकै ठाउँमा उभिनु जरुरी छ। चुनौतीबाट भाग्ने होइन, सामना गर्ने संस्कार विकास गर्नुपर्छ। यसरी मात्र “खुसी कर्मचारी, सुखी जनता” को परिकल्पना साकार हुनेछ। कर्मचारीको मनोबल उच्च हुँदा मात्र नेपालको समग्र विकासले नयाँ आयाम पाउनेछ।
(डा सुवेदी एमडी(जीपी एन्ड इमर्जेन्सी मेडिसिन) विशेषज्ञ हुन्)