काठमाडौं- थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सञ्चालनमा आएको ६६ वर्ष भएको छ। २०१६ सालमा कृष्ण जन्माष्टमी दिनमा ४० शय्याबाट सुरु भएको अस्पतालले शनिबार ६६औं वार्षिकोत्सव मनाउँदै छ।
तत्कालिन समयमा परोपकार इन्द्र राज्य लक्ष्मी देवी प्रसूति गृह तथा शिशु कल्याण केन्द्रको नामबाट स्थापना भएको यो अस्पताल आज नेपालको केन्द्रीय रिफरल अस्पतालको रूपमा परिचित छ। अस्पातलमा हाल ४ सय ८९ शय्या सञ्चालनमा रहेको छ।
अस्पतालमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी जाँच, उपचार लगायत महिला स्वास्थ्यसम्बन्धी विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदै आइरहेको छ। आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार कार्यक्रम, पाठेघरको मुखको क्यान्सर रोकथाम, निःसन्तानसम्बन्धी सेवा, वृहत स्तनपान व्यवस्थापन केन्द्र, र दुर्गम क्षेत्रका गर्भवती महिलाहरूको हवाई उद्धार जस्ता सेवाहरू यस अस्पतालबाट उपलब्ध छन्। अस्पतालले गर्भवती अवस्थामा हुन सक्ने मानसिक समस्या समाधानका लागि मानसिक ओपीडी सेवा पनि विस्तार गरेको छ।
वार्षिकोत्सवको पूर्व सन्ध्यामा स्वास्थ्यखबरले अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीलाई पछिल्लो एक वर्षमा भएका उपलब्धिका विषयमा जानकारी लिएको छ। निर्देशक अधिकारीले बुँदागत रुपमा ११ वटा प्रमुख उपलब्धिहरु उपलब्ध गराएका छन्।
यी हुन् प्रसूति गृहमा एक वर्षमा भएका ११ प्रमुख उपलब्धि
• सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै अनलाईन टिकटिङ्ग र थप एक विलिङ्ग काउण्टरको व्यवस्थापन तथा सर्भसुलभ औषधीको लागि २ वटा थप काउण्टर विस्तार गरी सेवाग्राहीलाइ सहज बनाइएको छ ।
• यस परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको कुपण्डोल स्थीत नव निर्मित सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन बाट मिति २०८१।३।१५ गते देखि सुरक्षित गर्भपतन सेवा, परिवार नियोजन सेवा, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, फार्मेसी सेवा, तालिमहल संचालन एवं आंशिकरुपमा अब्स तथा गाईनेकोलोजी सेवा साथै तालिममा आउने स्वास्थ्यकर्मी र नर्सिङ्ग विद्ध्यार्थीहरुको लागि छात्राबासको पनि व्यवस्थापन गरिएको छ । यस विस्तारित सेवाबाट सेवाग्राहीहरुलाइ सेवा लिन लामो समयसम्म पालो पर्खनु पर्ने बाध्यता बाट मुक्त भएका छन भने पार्किङ् को पनि व्यवस्थापनमा सहज भएको छ ।
• गुणस्तरीय प्याथोलोजी लगायतका सेवा उपलब्ध गराउँदै आएकोमा नेपालमा नै पहिलोपटक नवजात शिशुको अनुवांशिक तथा विकलाङ्गको पहिचानको तथा निदान गर्न विगत एक बर्ष देखि नियोनेटल स्क्रिनिङ्ग सेवा माननीनय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूबाट समुद्घाटन गरी संचालनमा ल्याइ हालससम्म करिव 18०० नवजात शिशुहरुको परीक्षण गरिसकिएको छ । यसले शिशुहरुको वंशाणुगत रोगको निदान गरि नवजात शिशुको मृत्यूदर घटाउन सहयोग गरेको छ ।
• पहिलो पटक यस अस्पतालमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्युबाट समुद्घाटन गरी मानसिक स्वास्थ्य ओ पी डी सेवा पनि संचालनमा ल्याइएको छ जसले गर्दा गर्भवती तथा सुत्करी महिलाहरुको मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरुलाइ समयमा नै सम्बोधन गरी एकै ठाँउबाट स्वास्थ्य सेवा लिन सहज भएको छ |
• देशकै ठूलो म्याटर्निटी अस्पताल भएकोले, यस अस्पतालमा जन्म भएका शिशुहरुलाई उपचारको आवश्यकता भएमा सकेसम्म अन्यत्र रिफर गर्नु नपरोस भन्ने हेतुका कारण साविकमा संचालित १० बेड एन आइ सीयू बाट चाप अनुसार सेवा उपलब्ध गराउँदा शैया अपुग भएको हुँदा १० शैया थप गरी २० बेडमा संचालन गरिएको छ ।
• यस अस्पतालमा सेवा लिन आएका गर्भवती महिलाहरुलाइ मेटर्नल इको तथा फेटल इको को सेवा लिन अन्यत्र जानु नपरोस भनी उक्त सेवासमेत यही अस्पतालबाट संचालन ल्याइएको छ ।जसले गर्दा विरामीहरुको समयको बचत तथा एकै ठाँउबाट स्वास्थ्य सेवा लिन सहज भएको छ ।
• थापाथली स्थीत भवनबाट २०८१।३।१५ गते बाटै कुपण्डोलको आई भी एफ भवनबाट निशन्तान सेवा सम्बन्धीका, आई. यू. आई., आई. भी. एफ. तथा निशन्तान सम्बन्धि अन्य सम्पूर्ण सेवाहरु कुण्डोलबाट उपलब्ध गराईएको तथा आई.भी.एफ.युनिटमा अत्याधुनिक प्रविधिबाट सेवा संचालन एवं गुणस्तरिय सेवा संचालन गर्नका लागि ICSI मेसिन मार्फत सेवा संचालन गरिएको हुँदा सेवाग्राहीहरुको सफलता दर बढ्न सहयोग भएको छ ।साथै नेपाल सरकारको आई यू आई तथा आई भी एफ सेवाको तालिम केन्द्रको रुपमासमेत यस अस्पताललाइ स्थापित गराईएको छ।
• नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस अस्पतालमा पनि अब्सट्रेटिक्स फिस्टुलाको उपचार स्वास्थ्य जनसंख्या मन्त्रालयको सहयोग तथा दातृ निकाय यू एन एफ पी ए को सहयोगबाट निशुल्करुपमा सेवाग्राहीहरुलाई यस सम्बन्धि उपचार गराउने व्यवस्था २०८१ चैत्र महिना देखि यस अस्पतालमा प्रारम्भ गरिएको छ ।जसले गर्दा सेवाग्राहीहरुलाई यस अस्पतालमा सेवा लिन सहजिकरण हुनुका साथै महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटेको छ |
• नेपालजस्तो विकासशील देशमा तालिम संचालन गर्दा स्वास्थ्य सम्बन्धि अभ्यास प्रकृयामा विरामीहरुको परिवार तथा विरामीहरुलाई पर्ने असहजता तथा जोखिम कम गर्नका लागि दातृ निकाय वर्न हार्ट वर्ड वाइड र यस अस्पतालको आपसी समन्वयमा मिति २०८२।१।२ गते देखि कुपण्डोल स्थीत नवनिर्मित भवनबाट अत्याधुनिक सिमुलेशन ल्याव संचालनमा ल्याइएको छ ।यसले गर्दा स्वास्थ्यकर्मीहरुको तालिमको गुणस्तरियतामा सुधार हुने र सेवाग्राहीहरुलाइ पर्ने जोखिम पनि कम हुनेछ ।
• सेवाग्राहीहरु को बढ्दो संख्या र दक्ष प्रसूतिकर्मी हरुबाट परिवारका सदस्यहरु को उपस्थितिमा सेवा लिने बढ्दो चाहना अनुरुप सेवा विस्तार गर्नको लागि Nick Simons Institute र यस अस्पतालको समन्वयमा मिति 2082.01.02 बाट चार वटा Birthing Suits र थप मिडवाइफहरुको व्यवस्थापन गरि सेवा व्यवस्थापन गरिएको छ |
• सेवाग्राहीहरुलाई सहजरुपमा सेवा उपलब्ध गराउन विस्तारित अस्पताल सेवा (EHS) दिउँसो ३ बजे देखि वेलुका ६ बजेसम्म उपलब्ध गराउँदै आएकोमा विहानी सत्रमा समेत विहान ७.३0 बजे देखि विहान 8.३० बजेसम्म उपलब्ध गराउँदै आएको छ।