काठमाडौं - प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्वपूर्ण रहेको बताएका छन्। शुक्रबार स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘तत्थ्यमा आधारित जनस्वास्थ्यसंग जोडिएका विषयहरुलाई आम जनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरुले गर्दै आउनु भएको छ। अबको चुनौती एआई लगायतका प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्युजलाई रोक्नु रहेको छ। यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरु बढी जिम्मेवार हुनुपर्छ। मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ‘ उनले भने।
उनले रोगबारेमा भन्दा पनि रोग लाग्नबाट जोगिने विषयहरुलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिए।
यसैगरी, कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य पत्रकारिताको महत्व दिनानुदिन बढेको भन्दै समग्रतामा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न के गर्न सकिन्छ ? ती कुराहरुलाई पनि ल्याउनु पर्ने बताए। उनले पत्रकारिताका माध्यमले पनि कहिलेकाँही कन्टेन खोजिरहेकाहरुलाई सजिलो हुने बताए। यस्तै स्वास्थ्य पत्रकारहरुले राज्य तथा स्वास्थ्य क्षेत्रको नेतृत्व गरेकाहरुलाई दवाव दिन सक्ने बताए।
‘गलत काम भए औल्याउन र सहि काम भए गो अहेड भन्नु पर्छ,’ उनले भने।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले देशको स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च अझ क्रियाशिल भएर स्वास्थ्य क्षेत्र सुधारका लागि दवाव सिर्जना गर्दै अघि बढ्नु पर्नेमा जोड दिए।
कार्यक्रममा स्वास्थ्य सचिव डा विकास देवकोटाले पत्रकारहरुलाई राज्यको चौथो अंग भनिने गरेको भए पनि आफूलाई स्वास्थ्य पत्रकारहरु तेस्रो अंग नै हो कि भन्ने लागेको बताए। उनले निरन्तर निगरानी र खबरदारीले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम भएको भन्दै तथ्यमा रहेर काम गर्न शुभकामना दिए।
यस्तै विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा राजेश सम्भाजीराव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पछिल्लो पटक डब्लुएचओले स्वास्थ्य पत्रकार मञ्च नेपालसंग जनस्वास्थ्यका विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया गर्दै आएको बताए।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले विट पत्रकारिताको विकास क्रमसंगै स्वास्थ्य पत्रकारिता उदाएको भन्दै त्यसको उदाहरण स्वास्थ्य विटका पत्रकारहरुको संस्थाको रुपमा उदाएको मञ्च हो भनिन्। उनले स्वास्थ्य पत्रकार मञ्चसंग अघि बढेर सहकार्य गर्न महासंघ तयार रहेको बताइन्।
मञ्चका पूर्व अध्यक्ष कल्पना आचार्यले स्वास्थ्य पत्रकार मञ्च स्थापना गर्दाका अनुभवहरु बाँढेकी थिइन।
यस्तै, अध्यक्ष भिषा काफ्लेले मञ्चको दश वर्षे इतिहास आरोह अवरोहका बारेमा चर्चा गर्दै आफूहरुले गर्न खोजेका कामका विषयमा चर्चा गरे।
संस्थापकहरुलाई सम्मान
शुक्रबार आयोजित विशेष समारोहमा स्वास्थ्य पत्रकार मञ्च नेपालका ११ जना संस्थापकहरुलाई सम्मान गरिएको छ। त्यसरी सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष अनिल न्यौपाने, उपाध्यक्ष कल्पना आचार्य, महासचिव मनिष गौतम, सचिव सरोज ढुंगेल र कोषाध्यक्ष रामप्रसाद न्यौपाने रहेका छन्।
यस्तै सदस्यहरु भगवती तिमल्सिना, प्रवीण ढकाल, उद्धवराज भेटुवाल, दीपा दाहाल, भिषा काफ्ले र अंकितबाबु अधिकारीलाई सम्मान गरिएको हो।
स्वास्थ्य पत्रकारिता कला र कौशल विमोचन
यसैअवसरमा शुक्रबारकै कार्यक्रममा स्वास्थ्य पत्रकार प्रवीण ढकाल र पत्रकार तथा अनुसन्धानकर्ता श्रीमन शर्माद्धारा लिखित स्वास्थ्य पत्रकारिता कला र कौशल पुस्तकको पनि बिमोचन भएको छ।
प्रतिनिधि सभाका सभामुख घिमिरे र स्वास्थ्य मन्त्री पौडेलसंगै विशिष्ठ अन्य अतिथिहरुले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गरेका हुन्।
पत्रकार ढकालका अनुसार स्वास्थ्य पत्रकारिताका विषयमा नै केन्द्रित रहेर प्रकाशन भएको यो पुस्तक नै पहिलो हो। उक्त पुस्तक हर्ड इन्टरनेसलले प्रकाशन गरेको हो। एक सय ४७ पृष्ठको उक्त पुस्तकमा विभिन्न २६ वटा अध्यायहरु रहेका छन्।