गत हप्ता नीति अनुसन्धान प्रतिष्ठानले “नेपालमा जनस्वास्थ्य शिक्षा र जनशक्ति: वर्तमान अवस्था र भावी कार्यदिशा” बारे सार्वजनिक नीति सम्बादको कार्यक्रम आयोजना गरी बक्ताको रुपमामा बोलायो। राष्ट्रले अख्तियार गर्नुपर्ने विभिन्न नीतिका सम्बन्धमा अध्ययन र अनुसन्धान गर्ने, मुलुकले कुनै खास विषयमा अपनाउनु पर्ने दीर्घकालीन, अल्पकालीन वा तत्कालीन नीति तथा सञ्चालन गर्नुपर्ने योजना, कार्यक्रम तथा अनुसन्धान गर्ने तथा त्यसमा अपनाउनु पर्ने उपायका बारेमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने संस्था भएको हुँदा बिश्वबिधालय, प्रतिष्ठान, कलेज, जनस्वास्थ्यविद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद, बिश्वस्वास्थ्य संगठनका प्रतिनिधि लगायत सरोकारवालाहरुको बाक्लो जमघटमा विषयबस्तुको बारेमा छलफल गरियो।
नीति अनुसन्धान प्रतिष्ठानको मुख्य काम मुलुकमा आर्थिक उन्नति, सामाजिक न्याय, पारदर्शिता वा सुशासन कायम गर्न अपनाउनु पर्ने नीति र उपायका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने, निजामती वा सार्वजनिक सेवालाई थप प्रभावकारी, जवाफदेही, मर्यादित, कुशल तथा व्यावसायिक बनाउन त्यस्तो सेवामा गर्नुपर्ने सुधारका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने र नेपाल सरकारको अनुरोधमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी कुनै खास विषयमा अपनाउनु पर्ने नीतिको मस्यौदा गरी कारबाहीको लागि सम्बन्धित मन्त्रालय पठाउने भएको हुँदा केहि आशा र भरोशाका साथ सहभागीहरुले आ-आफ्नो भनाइ राखे। मैले पनि आफ्मो विचार प्रस्तुत गर्ने मौका पाए।
नेपालको जनस्वास्थ्य क्षेत्र देशको समग्र स्वास्थ्य प्रणालीको मेरुदण्ड हो। यस क्षेत्रको मजबुतीका लागि जनस्वास्थ्य शिक्षा, जनशक्ति उत्पादन, र तिनको उचित प्रयोगको अवस्था उच्च प्राथमिकतामा रहनुपर्छ। तर वर्तमान परिस्थितिले हामीलाई विगतमा गरेको प्रयत्न अपुरो तथा अधुरो छ। नसर्ने रोगहरुको भयाबह अवस्था, मान्छेको खानपान तथा जीवनशैलीमा आएको परिवर्तनले गर्दा जनस्वास्थ्य क्षेत्रमा थप चुनौती छन्। धेरै गर्न अझै बाँकी छ, र मुख्य अभाव श्रोतको भन्दापनि इच्छाशक्तिको छ।
पाठ्यक्रमको अवस्था र चुनौती
नेपालमा जनस्वास्थ्य शिक्षाका लागि प्रयोग भइरहेका पाठ्यक्रमहरूमा केही अद्यावधिक कार्य भए पनि ती पर्याप्त छैनन्। २१औं शताब्दीका जटिल र बहुआयामिक जनस्वास्थ्य समस्याहरू, जस्तै जलवायु परिवर्तन र स्वास्थ्य क्षेत्रमा परिरहेको असर, मानसिक स्वास्थ्य, नसर्ने रोगहरूको वृद्धिदर, खाडीमाकामगर्ने नेपालीहरुका स्वास्थ्य समस्या र संरचनागत समस्या लाई पर्याप्त प्राथमिकताका साथ समेटिएको छैन।
पाठ्यक्रम अद्यावधिक गर्ने प्रक्रियामा प्रशासनिक झमेलाहरू छन्। बिश्वबिधालयहरुलको पाठयक्रममा परिमार्जन गर्न झन्झटिलो प्रक्रिया छ। यसले नयाँ विचार, दृष्टिकोण, र वैज्ञानिक तथ्यहरू तत्काल समावेश गर्न कठिन बनाउँछ। व्यवहारिक अभ्यास (field practice) र सीपमूलक अभ्यास पर्याप्त नभएकाले विद्यार्थीहरू पुस्तकमुखी (memory-based) ज्ञानमा सीमित भइरहेका छन्। जसको कारण जनस्वास्थ्य बिषयमा उत्कृस्ट नम्बर ल्याउने व्यक्तिहरु जागिरको खोजीमा भौतारिनु परेको छ।
अर्को चुनौती भनेको बहुविषयगत र अन्तरविषयगत दृष्टिकोणको कमी हो। सार्वजनिक स्वास्थ्य समस्याहरूको समाधानका लागि सामाजिक विज्ञान, सूचना प्रविधि, अर्थशास्त्र, नीति विश्लेषण, र व्यवस्थापनको ज्ञान आवश्यक हुन्छ। तर, यी विषयहरू पाठ्यक्रममा पर्याप्तरूपमा एकीकृत छैनन्।
विद्यार्थीहरूको सांस्कृतिक, सामाजिक, र आर्थिक यथार्थसँग मेल खाने सामग्रीको अभाव, साथै पाठ्यक्रममा स्थानीय ज्ञान र विश्वस्तरीय वैज्ञानिक दृष्टिकोणको सन्तुलन कायम गर्न सकीएको छैन ।जलवायु परिवर्तन, समानता, सामाजिक न्याय, नैतिकता, र आलोचनात्मक चेत जस्ता समसामयिक मुद्दाहरू पनि पाठ्यक्रममा प्रष्ट रूपमा समेटिनु जरुरी छ।
सिकाइको उद्देश्य र मूल्याङ्कन प्रणाली
शिक्षा प्रणालीले विद्यार्थीले के जान्ने, के गर्न सक्ने, र कसरी मूल्याङ्कन हुने भन्ने कुरा स्पष्ट रूपमा निर्धारण गर्नुपर्छ। तर अहिलेको अभ्यासमा “निल्ने र ओकल्ने” प्रकारको छ, अर्थात् स्मरणमा आधारित परीक्षा प्रणाली हाबी छ। कौशल शीपमूलक (skill-based) र क्षमता-आधारित (competency-based) पठनपाठन तथा मूल्याङ्कन प्रणाली आवश्यक भए पनि त्यसतर्फको ध्यान न्यून छ।
राष्ट्रिय मापदण्ड, संस्थागत लक्ष्य, र समुदायको आवश्यकता अनुसार सिकाइ परिणाम निर्धारण गर्न सकिएमा मात्र शिक्षा प्रणाली अधिक प्रभावकारी बन्न सक्छ।
शिक्षक–विद्यार्थी सम्बन्ध
जनस्वास्थ्य शिक्षामा शिक्षकको सृजनशीलता र विद्यार्थीको सक्रिय सहभागिता अपरिहार्य छ। तर, सबै संस्थाहरूमा विविध शिक्षण विधि, जस्तै अनुभवजन्य सिकाइ, भोगाई, समुदाय संग सिक्ने र सहभागीमूलक सिकाईको पर्याप्त प्रयोग भइरहेको पाइँदैन। जसले गर्दा जनस्वास्थ्यकर्मी हरुले नयाँ परिस्थितिको सामना गर्न सक्दैनन्।
शिक्षक र विद्यार्थीबीचको सम्बन्ध मार्गदर्शन र सहकार्यमा आधारित हुनुपर्ने हो, तर कतिपय अवस्थामा शिक्षण अझै पनि “उपदेशात्मक” रहँदै आएको छ। अन्तरविषयगत सिकाइ र अनुसन्धान-आधारित अध्ययनका अवसर विस्तार गर्न सकिएमा विद्यार्थीको सीप र आलोचनात्मक सोच दुवैमा वृद्धि हुनेछ।
मुख्य चुनौतीहरू
नेपालमा जनस्वास्थ्य शिक्षा र जनशक्ति विकासका सन्दर्भमा अहिले पनि धेरै महत्त्वपूर्ण चुनौतीहरू विद्यमान छन्। पहिलो, गुणस्तरमा असमानता एउटा ठुलो समस्या हो। सबै शैक्षिक संस्थाहरूमा पाठ्यक्रम, शिक्षण शैली, र प्रशिक्षकहरूको दक्षता समान छैन, जसको प्रत्यक्ष असर उत्पादन हुने जनशक्तिको क्षमतामा देखिन्छ। यसले राष्ट्रियस्तरमा जनस्वास्थ्य सेवाको गुणस्तरमा पनि असमानता ल्याउँछ।
दोस्रो चुनौती, अनुसन्धानमा कमजोरी। स्थानीय सन्दर्भमा आधारित अनुसन्धानको कमीका कारण नीति निर्माणमा वैज्ञानिक आधार कमजोर बन्न पुग्छ। अनुसन्धान गर्न निकै ठुलो धनराशीको आवस्यक हुन्छ भन्ने गलत धारणा अझै बलियो छ, जसले थोरै स्रोतमा पनि गर्न सकिने सम्भावित अध्ययनलाई निरुत्साहित गर्छ।
तेस्रो, पेशागत अवसरको अभाव। युवाहरूको जनस्वास्थ्य अध्ययनमा आकर्षण घटाउने अर्को प्रमुख कारण नेपालमा अवसरको कमि हो। जनस्वास्थ्यमा डिग्री लिएपछि नेपालमा रोजगारीको निश्चितता नभएपछि धेरै विद्यार्थीहरू अन्य पेशा रोज्न वा विदेशमा आफ्नो भबिष्य र सम्भावना खोज्न बाध्य हुन्छन्।
चौथो चुनौती समन्वयको कमी हो। स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा, र नीति निर्माणका क्षेत्रबीच पर्याप्त सहकार्य नहुनुले बढी अन्यौलता पैदा भएको अवस्था हो। यसले योजना कार्यान्वयनमा प्रत्यक्ष बाधा पुर्याउँछ र स्रोतहरूको प्रभावकारी उपयोग हुन सक्दैन।
पाँचौँ चुनौती प्रतिस्पर्धी वातावरणको अभाव हो। कतिपय शैक्षिक संस्थामा आफूभन्दा जान्ने व्यक्तिलाई अवसर नदिने, उग्र दलगत धारणा, दक्षता तथा क्षमतालाई सम्मान गर्ने संस्कारको कमीले गर्दा ज्ञान आदानप्रदानमा अवरोध सिर्जना भैरहेको छ। यस्तो मानसिकतामा आमूल परिवर्तन गर्न सकिएमा सहकार्य र नवप्रवर्तन दुवैमा वृद्धि हुने सम्भावना हुन्छ।
समाधानका उपायहरु
यी चुनौतीहरूको समाधानका लागि केही ठोस सुधारका दिशा प्रस्ताव गर्न सकिन्छ। पहिलो, पाठ्यक्रम सुधार अत्यावश्यक छ। नेपालको जनस्वास्थ्यको चुनौतीहरूलाई केन्द्रमा राख्दै पाठ्यक्रमलाई नियमित रूपमा अद्यावधिक गर्नुपर्छ। व्यवहारिक तालिम, इन्टर्नसिप, र समुदाय बाट सिक्ने अवधारणालाई अनिवार्य बनाउनु पर्छ। साथै, समाजविज्ञान, सूचना प्रविधि, अर्थशास्त्र, र नीति व्यवस्थापनसँग अन्तरविषयगत समन्वय बढाउनुपर्छ।
दोस्रो, शिक्षण विधि र शिक्षक विकासमा ध्यान दिनुपर्छ। शिक्षकहरू निरन्तर सिक्ने प्रक्रियामा रहनुपर्छ र बदलिँदो सन्दर्भसँग मेल खाने नयाँ विधि, दृष्टिकोण, तथा अनुसन्धान निष्कर्षहरू आत्मसात गर्नुपर्छ। शिक्षण वातावरण सहकार्य र सम्मानमा आधारित हुनुपर्छ, जहाँ शिक्षक मार्गदर्शकको भूमिकामा रहून्। विविध सिकाइ शैलीलाई अनुकूल बनाउन नवीनतम शिक्षण उपकरण र प्रविधिको प्रयोग गर्न आवश्यक छ।
तेस्रो, स्थानीय र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्नु जरुरी छ। शैक्षिक संस्थाले स्थानीय समुदायसँगको सम्बन्ध मजबुत बनाउनुपर्छ। साथै, भारत, चीन लगायतका देशका शैक्षिक संस्थासँग अनुसन्धान र ज्ञान आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्छ। अन्तर्राष्ट्रिय सहकार्यले अनुसन्धानको पहुँच, ज्ञानमा विस्तार, शिक्षक तथा बिधार्थीमा आत्मबिश्वास, विविधता र प्रभावकारिता बढाउन मद्दत पुर्याउँछ।
चौथो, पदोन्नति प्रणाली सुधार गर्नुपर्छ। पदोन्नति गर्दा केवल सेवा अवधि होइन, अनुसन्धान क्षमता, नेतृत्वको क्षमता, प्रकाशनको संख्या, कामको उचित मूल्यांकन र संस्थागत योगदानलाई प्राथमिकता दिनुपर्छ। यसले जनस्वास्थ्यकर्मी लाई निरन्तर सिकाइ र अनुसन्धानमा सक्रिय रहन प्रेरित गर्नेछ। कर्मचारीको आत्मबल बढाउन मद्दत गर्छ।
पाँचौँ, भर्ना योग्यता मापदण्डमा लचिलोपन आवश्यक छ। स्नाकोत्तर र पीएचडी तहमा भर्ना गर्दा केवल औपचारिक शैक्षिक पृष्ठभूमि होइन, सम्बन्धित क्षेत्रमा अनुभव र अनुसन्धान प्रोफाइललाई पनि महत्त्व दिनुपर्छ। यसले विविध पृष्ठभूमिका विद्यार्थीलाई अवसर प्रदान गर्नेछ र अनुसन्धानको गुणस्तर बढाउनेछ।
छैठौँ, छात्रवृत्ति र ग्रामीण सेवा नीति प्रभावकारी रूपमा लागू गर्नुपर्छ। ग्रामीण र आर्थिक रूपमा कमजोर विद्यार्थीका लागि लक्षित छात्रवृत्ति योजना ल्याउनुपर्छ। छात्रवृत्ति लिने विद्यार्थीले निश्चित वर्ष नेपालमै सेवा गर्ने नीति कार्यान्वयन गर्नुपर्छ। साथै, ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिलाई अतिरिक्त भत्ता, आवास सुविधा, र तालिमको अवसर दिनुपर्छ। हालको छात्रवृत्तिको ब्यबस्थालाई पुनरावलोकन गर्न ढिला भैसकेको छ।
अन्त्यमा, स्थायित्व र प्रेरणा कायम राख्न पेशागत विकासको अवसर, सुरक्षित कार्य वातावरण, र सम्मानजनक पारिश्रमिक सुनिश्चित गर्नुपर्छ। यसले योग्य जनशक्ति विदेशजान रोक्न र जनस्वास्थ्य प्रणालीलाई सबल बनाउन मद्दत गर्नेछ।
निष्कर्ष
नेपालमा जनस्वास्थ्य शिक्षा र जनशक्ति विकासको अवस्था सुधार गर्न धेरै अवसरहरू छन्। आवश्यक केवल योजनाबद्ध कार्य, संस्थागत सहकार्य, र दृढ इच्छाशक्ति हो। पाठ्यक्रम सुधार, गुणस्तरीय शिक्षण, अनुसन्धान विस्तार, र पेशागत अवसरको सुनिश्चितता, यी सबै कुरा राज्य, शैक्षिक संस्था, गैरसरकारी क्षेत्र, र निजी क्षेत्रको संयुक्त प्रयासबिना सम्भव छैन।
जनस्वास्थ्य शिक्षा केवल पेशागत योग्यता प्राप्त गर्ने माध्यम मात्र होइन, यो राष्ट्रको स्वास्थ्य सुरक्षा र समृद्धिको आधार हो। त्यसैले यस क्षेत्रमा लगानी गर्नु दीर्घकालीन रूपमा नेपालको सामाजिक र आर्थिक भविष्यमा लगानी गर्नु हो।
(प्राध्यापक सुवेदी पाटन बिज्ञान प्रतिष्ठान, जनस्वास्थ्य संकायका पूर्व प्रमुख हुन् । नीति अनुसन्धान प्रतिष्ठानले २९ श्रावण २०८२ आयोजना गरेको “नेपालमा जनस्वास्थ्य शिक्षा र जनशक्ति: वर्तमान अवस्था र भावी कार्यदिशा” बिषयक अन्तरक्रियामा ब्यक्त विचार)