नयाँ दिल्ली– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ। खोपमार्फत रोकथाम गर्न सकिने रोगविरुद्धको निरन्तर र प्रभावकारी अभियानकै परिणामस्वरूप नेपालले यो उपलब्धि हासिल गरेको हो।
रुबेला (जर्मन दादुरा) भाइरसबाट सर्ने अति सङ्क्रामक रोग हो, जसले विशेषगरी गर्भवती महिलामा गर्भपतन, मृत शिशु जन्मिने वा अपाङ्गता जस्ता गम्भीर समस्या निम्त्याउन सक्छ। तर सुरक्षित र प्रभावकारी खोपले यसलाई रोक्न सकिन्छ।
डब्लुएचओ दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले भनिन्, “नेपालले नेतृत्व तहको दृढ प्रतिबद्धता, स्वास्थ्यकर्मीहरूको लगनशीलता र सामुदायिक स्वास्थ्य स्वयंसेविकाको निरन्तर योगदानका कारण यो सफलता हासिल गरेको हो।”
क्षेत्रीय प्रमाणीकरण आयोगले हालै सम्पन्न बैठकमा नेपालले प्रस्तुत गरेको खोप कभरेज दर र रोग निगरानी सम्बन्धी तथ्यांकको समीक्षा गरी नेपालमा रुबेला निवारण भएको प्रमाणित गरेको हो।
यससँगै नेपाल डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौँ राष्ट्र बनेको छ। यसअघि भूटान, उत्तर कोरिया, माल्दिभ्स, श्रीलंका र टिमोर–लेस्टेले रुबेला नियन्त्रणमा सफलता पाइसकेका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भने, 'यो उपलब्धिले शिशुहरूको लागि स्वस्थ जीवनको सुरुवात र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको छ। अब कुनै पनि बालबालिका खोपबाट बचाउन सकिने रोगले पीडित नहोउन् भन्ने हाम्रो उद्देश्य हो।'
नेपालले सन् २०१२ देखि रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको थियो। सन् २०१६ मा दोस्रो मात्रा थपिएको थियो। २०१२, २०१६, २०२० र २०२४ का देशव्यापी खोप अभियानहरूले यसमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
सन् २०२४ सम्ममा नेपालले रुबेला खोपको पहिलो मात्रा ९५% भन्दा बढी बालबालिकामा पु¥याउन सफल भएको थियो। ‘खोप महिना’ अभियान र ‘पूर्ण खोपयुक्त’ घोषणा जस्ता नवीन पहलहरूले पनि यस लक्ष्यमा पुग्न मद्दत गरेका थिए।