काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाको शारीरिक तथा मानसिक विकाससहित रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ।
आयुर्वेद चिकित्सा विज्ञानको काश्यप संहिता मा उल्लेख भएअनुसार स्वर्ण भस्मलाई घ्यू र महमा मिसाएर थोपा अंशमा सेवन गराइने विधिलाई स्वर्णबिन्दु प्राशन भनिन्छ। यो विधिले बालबालिकाको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने आयुर्वेद ग्रन्थहरूमा वर्णन गरिएको छ।
मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार २०८२ भदौ १ गते स्वीकृत निर्देशिकाले यस कार्यक्रमलाई सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी ढंगले सञ्चालन गर्ने व्यवस्था गरेको छ। प्रारम्भमा यो कार्यक्रम नेपालभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र, आयुर्वेदिक अस्पताल तथा आयुर्वेद शिक्षण अस्पतालमार्फत सञ्चालन हुनेछ।
स्वर्णबिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षत्रको दिन आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा दिइनेछ। यसबाट ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाले लाभ पाउनेछन्। तर ज्वरो, अजीर्ण, झाडा–पखाला, रुघाखोकी जस्ता समस्या भएका बालबालिकालाई भने सहभागी गराइने छैन।
स्वास्थ्य मन्त्रालयले यसलाई मातृशिशु स्वास्थ्य प्रवर्द्धनसँग समेत जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ। यस वर्षदेखि राष्ट्रिय कार्यक्रमका रूपमा सुरु भएको स्वर्णबिन्दु प्राशनलाई आगामी वर्ष क्रमिक रूपमा सबै स्थानीय तहका आयुर्वेद स्वास्थ्य संस्थामा विस्तार गर्ने तयारी गरिएको छ।
पहिलो चरणमा लागु हुने केन्द्रहरु
(क) प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ
(ख) त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर
(ग) आयुर्वेद चिकित्सालय नरदेवी
(घ) राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ
(ङ) प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश
(च) प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश
(छ) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश
(ज) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश
(झ) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही, मधेश प्रदेश
(ञ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, वागमति प्रदेश
(ट) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, वागमति प्रदेश
(ठ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, वागमति प्रदेश
(ड) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन वागमति प्रदेश
(ढ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, वागमति प्रदेश
(ण) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर, वागमति प्रदेश
(त) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरंग, कोशी प्रदेश
(थ) गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश
(द) धौलागिरि आयुर्वेद अस्पताल, बागलुंग, गण्डकी प्रदेश
(ध) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश
(न) लुम्बिनि आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश
(ऩ) राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश
(प) बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्, गुलरिया, लुम्बिनी प्रदेश
(फ) प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत , कर्णाली प्रदेश
(ब) आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश
(भ) आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश