काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महाराजगंज क्याम्पस समिति र सेन्ट्रल डिपार्टमेन्ट अफ पब्लिक हेल्थले निजी मेडिकल कलेजहरुमा मात्रै मेडिकल तथा प्यारामेडिकल सिट संख्या बढाएको भन्दै विरोध जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीको रोजाइमा पर्ने सरकारी मेडिकल कलेजलाई उकास्नु पर्नेमा निजीलाई मात्र प्राथमिकता दिनु असमान र अन्यायपूर्ण नहुने भन्दै स्ववियु समितिले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
स्ववियुले तीन बुँदे माग राख्दै सरकारी संस्थामा सिट बढाउन जोड दिएको छ।
सरकारी मेडिकल कलेजहरुको पूर्वाधार र गुणस्तर प्रवर्द्धनमा लगानी गरी आवश्यकता अनुसार सिट वृद्धि गर्नुपर्ने, सिट वृद्धि गर्नुअघि सबै संस्थानको गुर्णस्तर र पूर्वाधारको उचित मुल्याकंन गर्नुपर्ने र शिक्षा प्रणालीलाई नाफामुखी सोचतर्फ धकेल्ने प्रवृत्ति अन्त्य गरी समान पहुँच र अवसर सुनिश्चित गर्नुपर्ने माग स्ववियुको छ।
