काठमाडौं- चेक गणतन्त्रका लागि नेपाली गैरआवासीय राजदूत डा शैल रुपाखेतीले चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
राजधानी प्रागस्थित प्राग क्यासलमा आयोजित एक विशेष समारोहका बीच राजदूत रुपाखेतीले मंगलबार साँझ राष्ट्रपति पावेललाई उक्त प्रमाणपत्र बुझाएका हुन्। यस क्रममा नेपालको राष्ट्रिय गान बजाउनुका साथै उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो।
राष्ट्रपति पावेलसँगको शिष्टाचार भेटमा राजदूत डा रुपाखेतीले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै चेक गणतन्त्रको सरकार र जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरेका थिए। भेटका क्रममा राष्ट्रपति पावेलले राजदूत रुपाखेतीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
ओहोदाको प्रमाणपत्र पेस गर्ने समारोहमा चेक गणतन्त्रका उप-परराष्ट्रमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। राजदूत रुपाखेतीकी पत्नी डा. इन्दिरा पौड्याल र बर्लिनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सागरप्रसाद फुयाल पनि समारोहमा सहभागी थिए।
जर्मनीस्थित नेपाली राजदूतावास बर्लिनले चेक गणतन्त्रसहित, रोमानिया, पोल्यान्ड, स्लोभाकिया, सर्विया, हंगेरी, युक्रेन, बुल्गेरिया र होली सी (भ्याटिकन सिटी) समेतका देशहरू हेर्दै आएको छ।
डा रुपाखेती गत मंसिरमा जर्मनीका लागि राजदूत नियुक्त भएका थिए। उनले मंसिर १६ गते राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिएका थिए। डा रुपाखेती शल्यचिकित्सक हुन्।