आजको प्रतिस्पर्धात्मक स्वास्थ्य क्षेत्रमा अस्पताल केवल उपचार केन्द्र मात्र होइनन्, बिरामीले कुन अस्पताल रोज्ने भन्ने निर्णयमा गुणस्तरीय सेवा, विश्वास, सजिलो पहुँच र समयमै प्राप्त जानकारी निर्णायक भूमिका खेल्छ । यही कारणले अहिले अस्पतालहरूमा हेल्थकेयर मार्केटिङको महत्व झनै बढेको छ । आधुनिक डिजिटल युगमा बिरामीहरू सामाजिक सञ्जाल, वेबसाइट र अनलाइन समीक्षा मार्फत जानकारी खोज्ने भएकाले प्रभावकारी मार्केटिङबिना अस्पतालले आफ्नो सेवा र मूल्य जनतासम्म पुर्याउन गाह्रो पर्छ । अब अस्पतालले गुणस्तरीय उपचारसँगै सचेतनामूलक सन्देश, बिरामीमैत्री कार्यक्रम र डिजिटल उपस्थितिलाई जोड्नैपर्ने समय आएको छ, जसले केवल बिरामीलाई लाभ पुर्याउँदैन, अस्पतालको दीर्घकालीन सफलता र प्रतिष्ठा पनि सुनिश्चित गर्छ ।
स्वास्थ्य भनेको मानव जीवनको आधार हो । अस्पतालहरू उपचार दिने स्थान मात्र होइनन्, समाजकै स्वास्थ्य अभिभावक हुन् । तर गुणस्तरीय सेवा र आधुनिक प्रविधि भए पनि यदि त्यसबारे बिरामी वा समुदायलाई जानकारी भएन भने धेरै मानिसले त्यसको फाइदा लिन सक्दैनन् । यही कारणले आजको समयमा हेल्थकेयर मार्केटिङ अस्पतालहरूको लागि अनिवार्य जस्तै बनेको छ ।
विश्वमा स्वास्थ्य सेवा दिन–प्रतिदिन प्रतिस्पर्धी हुँदै गएको छ । नयाँ अस्पताल, क्लिनिक र नर्सिङ होमहरू खुलेका छन्, बिरामीको अपेक्षा बढिरहेको छ र डिजिटल माध्यमबाट जानकारी लिनु सामान्य भएको छ । यस्तो परिस्थितिमा प्रभावकारी मार्केटिङबिना कुनै पनि अस्पतालले आफ्नो सेवा जनतासम्म पुर्याउन सक्दैन । आज विश्वभर स्वास्थ्य क्षेत्रमा ३०% भन्दा बढी बिरामीहरूले अस्पताल रोज्दा अनलाइन समीक्षाको आधारमा निर्णय गर्ने गरेका छन् । नेपालमा पनि डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रयोग बढेसँगै अस्पतालहरूले आफ्नो छवि र विश्वास निर्माण गर्न मार्केटिङलाई प्राथमिकतामा राख्न थालेका छन् ।
बिरामीलाई सचेत र सजग बनाउने साधन
अस्पतालको मुख्य उद्देश्य उपचार मात्र होइन, बिरामीलाई समयमै सचेत गराउनु पनि हो । हेल्थकेयर मार्केटिङले गर्ने पहिलो महत्त्वपूर्ण काम भनेको बिरामीलाई सचेत र सजग बनाउनु हो । “उपचार भन्दा रोकथाम नै राम्रो” भन्ने भनाइलाई व्यवहारमा उतार्न अस्पतालहरूले सचेतनामूलक अभियान सञ्चालन गर्न थालेका छन् । विभिन्न स्वास्थ्य शिविर, रक्तचाप वा मधुमेह परीक्षण, क्यान्सर स्क्रिनिङ, पोषणबारे परामर्श र मानसिक स्वास्थ्य सचेतनामूलक कार्यक्रममार्फत बिरामीलाई जानकारी पु¥याउन सकिन्छ ।
यस्ता अभियानले बिरामीलाई मात्र नभई सम्पूर्ण समुदायलाई सजग र सचेत बनाउन मद्दत गर्छ । विशेष गरी हृदय रोग, मधुमेह वा क्यान्सर जस्ता गम्भीर रोगहरू समयमै पत्ता लगाउन सके उपचार सजिलो हुन्छ भन्ने सन्देश प्रचार गर्न मार्केटिङ अत्यन्तै प्रभावकारी हुन्छ । वैज्ञानिक तथ्यांकले पनि देखाएको छ कि जीवनशैलीमा सानो सुधारले करिब ६० प्रतिशत गैर–संक्रामक रोगहरू रोकथाम गर्न सकिन्छ । यस्तो तथ्यलाई जनतासम्म पु¥याउनु भनेको अस्पतालको सामाजिक दायित्व मात्र होइन, समाजप्रतिको योगदान पनि हो ।
विश्वास र प्रतिष्ठा निर्माण
विश्वास र प्रतिष्ठा निर्माण गर्नु अर्को महत्त्वपूर्ण पक्ष हो। बिरामीले कुन अस्पताल रोज्ने भन्ने निर्णय गर्दा विश्वास नै पहिलो आधार हुन्छ । बिरामीको उपचार अनुभव, चिकित्सकको दक्षता, आधुनिक प्रविधिको प्रयोग र अस्पतालले हासिल गरेका उपलब्धिहरूलाई प्रचारमार्फत समुदायमा पुर्याउँदा प्रतिष्ठा बलियो हुन्छ ।
जब अस्पतालले पारदर्शिता अपनाउँछ र बिरामीमैत्री दृष्टिकोणलाई प्राथमिकता दिन्छ, तब जनतामा स्वाभाविक रूपमा विश्वास पैदा हुन्छ । मार्केटिङ यस विश्वास निर्माणको माध्यम बनेर अस्पताललाई दीर्घकालीन सफलतामा पु¥याउँछ । वास्तवमा भन्नुपर्दा, विश्वास जित्ने अस्पताल नै बिरामीको पहिलो रोजाइ बन्ने सम्भावना बढी हुन्छ ।
बिरामीसँगको सम्बन्ध बलियो बनाउने
आजका बिरामी उपचारपछि पनि अस्पतालसँग निरन्तर सम्पर्क चाहन्छन् । उनीहरू नियमित स्वास्थ्य जानकारी, पुनः परीक्षण, नयाँ सुविधा वा सेवाबारे अद्यावधिक पाउन चाहन्छन् । यसलाई सहज बनाउन अस्पतालहरूले न्यूजलेटर, एसएमएस सन्देश, हेल्थ एप्स र सामाजिक सञ्जालमार्फत जानकारी पुर्याउन थालेका छन् ।
यसरी बिरामीसँग निरन्तर सम्पर्कमा रहँदा अस्पताल र बिरामीबीच आत्मीय सम्बन्ध कायम हुन्छ, जसलाई निष्ठा भनिन्छ । एक अध्ययनले देखाएको छ कि उपचारपछि पनि अस्पतालसँग निरन्तर सम्पर्क भएको खण्डमा करिब ८५ प्रतिशत बिरामी अर्को पटक पनि त्यही अस्पताल रोज्ने सम्भावना हुन्छ । यसरी निरन्तर सम्पर्क राख्नु केवल सन्देश पु¥याउने माध्यम मात्र नभई दीर्घकालीन सम्बन्ध र अस्पतालको स्थिरताको आधार हो ।
अस्पतालको वृद्धि र दीगो भविष्य
अस्पतालको वृद्धि र दीगो भविष्य सुनिश्चित गर्न आधुनिक प्रविधि, उच्चस्तरीय सेवा र नयाँ विभाग विस्तार गर्न स्थिर बिरामी प्रवाह आवश्यक हुन्छ । यसका लागि मार्केटिङ प्रभावकारी साधन हो। नयाँ बिरामी आकर्षण गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीहरूसँगको रेफरल नेटवर्कलाई मजबुत पार्ने, विशेष उपचार सेवा वा नयाँ विभागबारे जानकारी पु¥याउने कार्यमार्फत अस्पतालले आफ्नो उपस्थितिलाई मजबुत बनाउन सक्छ ।
उदाहरणका लागि, कुनै अस्पतालले किड्नी ट्रान्सप्लान्ट, मुटु उपचार वा क्यान्सर व्यवस्थापनमा विशेषता राख्छ भने यसको जानकारी जनतासम्म समयमै पुग्नु अत्यन्तै आवश्यक हुन्छ । यसले बिरामीलाई सुविधा प्राप्त गराउँछ भने अर्को तर्फ अस्पताललाई प्रतिस्पर्धी बजारमा मजबुत बनाउँछ। दीर्घकालीन दृष्टिकोणले हेर्दा गुणस्तरीय उपचारसँगै प्रभावकारी प्रचारले मात्र अस्पताललाई टिकाउ सफलता दिलाउन सक्छ ।
समुदायसँग सहकार्य र सामाजिक उत्तरदायित्व
अस्पताल समाजकै अभिन्न हिस्सा भएकाले समुदायसँग सहकार्य र सामाजिक उत्तरदायित्व पनि हेल्थकेयर मार्केटिङको प्रमुख पक्ष हो । निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, सरसफाइ अभियान, विद्यालयस्तरीय स्वास्थ्य शिक्षा वा महामारीका समयमा अग्रणी भूमिका खेल्ने अभ्यासले अस्पताललाई केवल उपचार केन्द्र मात्र नभई सामाजिक उत्तरदायी संस्था बनाउँछ ।
जब यी गतिविधिहरूलाई प्रचारमार्फत प्रभावकारी ढङ्गले प्रस्तुत गरिन्छ, तब समुदायले अस्पताललाई अझ नजिकबाट अनुभव गर्न सक्छ। यसरी अस्पतालले आफ्नो सामाजिक छवि बलियो बनाएर समुदायसँग दीर्घकालीन सम्बन्ध कायम गर्न सक्छ ।
डिजिटल युगसँग तालमेल
आजको डिजिटल युगमा अस्पतालहरूको भूमिका केवल उपचार केन्द्रमा सीमित छैन । बिरामीहरू अब उपचार खोज्दा केवल चिकित्सक वा अस्पतालको भौतिक उपस्थितिमा भर पर्दैनन्; उनीहरूले अनलाइन माध्यम, सामाजिक सञ्जाल, मोबाइल एप्स, वेबसाइट र अनलाइन समीक्षा मार्फत पनि अस्पतालको सेवा र गुणस्तरको मूल्याङ्कन गर्छन् ।
डिजिटल प्लेटफर्ममार्फत अस्पतालले आफ्ना सेवाहरू, विशेषज्ञ चिकित्सक, नयाँ सुविधा र स्वास्थ्य सचेतनामूलक कार्यक्रमलाई व्यापक समुदायसम्म पु¥याउन सक्छ । यसले बिरामीलाई सजिलो पहुँच प्रदान गर्छ। उदाहरणका लागि, डिजिटल मार्केटिङमार्फत बिरामीले अनलाइन अपोइन्टमेन्ट बुक गर्न, विशेषज्ञ डाक्टरको समय तालिका हेर्न र टेलिमेडिसिन सेवा मार्फत घरमै बसेर परामर्श लिन सक्छन् ।
यसले विशेषगरी टाढा रहेका बिरामी वा भौतिक रूपमा अस्पतालसम्म पुग्न सक्न नहुने व्यक्तिहरूलाई ठूलो सुविधा पु¥याउँछ । साथै, डिजिटल उपस्थितिले अस्पताललाई आफ्नो ब्रान्ड मजबुत बनाउन मद्दत गर्छ । वेबसाइट, फेसबुक, युट्युब, इन्स्टाग्राम र लिंक्डइन जस्ता प्लेटफर्ममा नियमित स्वास्थ्य सुझाव, अभियान, सफलता कथा र बिरामी अनुभव साझा गर्दा बिरामीमा आत्मीयता र विश्वास बढ्छ ।
डिजिटल मार्केटिङमार्फत् अस्पतालले केवल स्थानीय स्तरमा मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहुँच विस्तार गर्न सक्छ । अनुसन्धानले देखाएको छ कि करिब ७० प्रतिशत मानिसले अस्पताल वा चिकित्सकबारे जानकारी इन्टरनेटमै खोज्छन् । त्यसैले अस्पतालले डिजिटल रणनीतिलाई प्राथमिकता दिनु जरुरी छ। यसले बिरामीलाई जानकारी दिनु मात्र होइन, अस्पतालको प्रतिष्ठा निर्माण, दीर्घकालीन सम्बन्ध कायम राख्ने र नयाँ बिरामी आकर्षण गर्ने आधार पनि तयार गर्छ ।
हेल्थकेयर मार्केटिङ : बिरामीलाई सजग बनाउने, विश्वास जित्ने र दीर्घकालीन नाता कायम गर्ने आधुनिक रणनीति
हेल्थकेयर मार्केटिङ कुनै विलासिता होइन, यो आजको समयमा अस्पतालका लागि रणनीतिक आवश्यकता हो । यसले बिरामीलाई स्वास्थ्यबारे सचेत गराउने, विश्वास निर्माण गर्ने, बिरामीसँग नजिक हुने, अस्पतालको प्रतिष्ठा बढाउने र दीर्घकालीन टिकाउपन सुनिश्चित गर्ने आधार तयार गर्छ ।
गुणस्तरीय उपचारसँगै जब अस्पतालले प्रभावकारी मार्केटिङलाई जोड्छ, तब मात्र समाजमा सशक्त योगदान गर्न र बिरामीको पहिलो रोजाइ बन्न सक्षम हुन्छ ।
लेखक मणिपाल शिक्षण अस्पतालमा मार्केटिङ प्रबन्धकको रूपमा कार्यरत छन् ।