भरतपुर- चितवनको भरतपुर–१० स्थित पुष्पान्जली हस्पिटल प्रा.ली. र गुल्मी चितवन मैत्री समाज चितवनबीच स्वास्थ्य सेवामा विशेष सुविधा दिने सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार, समाजका सदस्यहरूले अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट सुविधा पाउने भएका छन्।
सम्झौता आदान–प्रदान कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक सुजनराज अधिकारी, वरिष्ठ फिजिसियन एसोसियट प्रोफेसर डा. भोजराज अधिकारी, बोर्ड सदस्य तथा सामाजिक विभाग प्रमुख तेज नारायण खरेल, बोर्ड सदस्य राजेन्द्र पन्त, सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी केदार प्रसाद सुबेदी र नर्सिङ प्रमुख कविता खराल उपस्थित थिए।
त्यस्तै, गुल्मी चितवन मैत्री समाज चितवनतर्फबाट अध्यक्ष बिक्रम सापकोटा, वरिष्ठ उपाध्यक्ष मोहन पन्थी, सचिव गंगाधर खराल लगायतको सहभागिता थियो।
कार्यक्रममा अस्पतालको समग्र सेवा सुविधा र ‘जनतासँग अस्पताल’ कार्यक्रमबारे जानकारी सामाजिक सेवा इकाई प्रमुख केदार सुबेदीले दिएका थिए भने समाजको तर्फबाट अध्यक्ष बिक्रम सापकोटाले आफ्नो धारणा राखेका थिए।
यस अवसरमा बोर्ड सदस्य तेज नारायण खरेलले “चितवनमा स्वास्थ्य क्षेत्रमा भरपर्दो सुविधा सम्पन्न अस्पतालले गरेको यस्तो सामाजिक पहल प्रशंसनीय छ, यसलाई सबैले प्रोत्साहन गर्नु आवश्यक छ” भनेर टिप्पणी गरेका थिए।