क्लिनिकल फार्मासिस्टले स्वास्थ्य सेवा प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। उनीहरूको मुख्य जिम्मेवारीहरूमा औषधि परामर्श र व्यवस्थापन, औषधि सुरक्षा (औषधि प्रतिकूल असर निगरानी), र बिरामीको समग्र उपचार प्रक्रियाको सुधार पर्दछ।
दैनिक कार्यतालिका अनुसार, उनीहरूले बिरामीलाई औषधिको सही प्रयोग, मात्रा, र सम्भावित असरबारे जानकारी दिन्छन्। यसले उपचारलाई प्रभावकारी बनाउँछ र अनावश्यक जटिलता कम गर्न मद्दत गर्दछ। यस प्रकारको औषधि परामर्शले बिरामी र स्वास्थ्यकर्मीबीच समन्वय बलियो बनाउँछ।
औषधि सुरक्षा र निगरानी
क्लिनिकल फार्मासिस्टहरूको अर्को महत्वपूर्ण कार्य औषधि सुरक्षा हो। यस अन्तर्गत उनीहरूले बिरामीमा देखिने औषधिको प्रतिकूल असरहरू (औषधि प्रतिकूल प्रतिक्रिया – ए.डी.आर.) को नियमित निगरानी गर्छन्।
उनीहरूले वार्ड राउन्डका क्रममा स्वास्थ्यकर्मीहरूसँग मिलेर काम गर्छन् र देखिएका प्रतिकूल असरहरूलाई भिजीफ्लो जस्ता विशेष प्रणालीमार्फत सम्बन्धित निकाय (जस्तै औषधि व्यवस्था विभाग – डीडीए) मा रिपोर्ट गर्छन्।
यस प्रक्रियाले औषधिको सुरक्षा विवरणलाई निरन्तर सुधार गर्छ र नयाँ वा अज्ञात असर पत्ता लगाउन सहयोग पुर्याउँछ।
चुनौती र समाधानको आवश्यकता
अस्पतालमा बिरामीको अत्यधिक चापका कारण प्रत्येक बिरामीलाई पर्याप्त समय दिन र सेवाको गुणस्तर कायम राख्न कठिन हुन सक्छ।
बिरामीको संख्या र उपलब्ध क्लिनिकल फार्मासिस्टको संख्याबीच असन्तुलन हुँदा सेवाको प्रभावकारिता घट्छ।
यसलाई समाधान गर्न, अस्पतालमा क्लिनिकल फार्मासिस्टका लागि स्थायी र पर्याप्त पदको व्यवस्था अनिवार्य छ।
यस्तो व्यवस्थापनले बिरामीको औषधि व्यवस्थापनलाई अझ प्रभावकारी र सुरक्षित बनाउँछ, स्वास्थ्य सेवा प्रणालीको गुणस्तरमा सुधार ल्याउँछ र बिरामी उपचारमा क्लिनिकल फार्मासिस्टको महत्वलाई पुष्टि गर्दछ।
घटना १
७३ वर्षकी आमा आफ्नो नियमित औषधिका लागि अस्पताल आउनुभयो। डाक्टरले रिपोर्ट हेरेर औषधिमा परिवर्तन गर्नुभयो। फार्मेसीबाट नयाँ औषधि पाएर घर लग्नुभयो। तर, पुरानो औषधि छोड्ने वा खाने भन्ने द्विविधामा परेकी आमाले दुबै औषधि सेवन गर्नुभयो। यसरी अत्यधिक मात्रामा औषधि सेवन (ओभरडोज) भएपछि आकस्मिक रूपमा अस्पताल भर्ना हुनुपर्यो। ५ दिनको बसाइपछि डिस्चार्ज हुनुभयो।
यो घटनाबाट बुझ्न सकिन्छ, फार्मेसीमा चाप हुँदा बिरामीले पहिले कुन औषधि सेवन गरिरहेको छ भन्ने जानकारी नहुँदा समस्या उत्पन्न भएको हो। यदि औषधि वितरणपछि क्लिनिकल फार्मासिस्टद्वारा औषधि समीक्षा (Medication Review) गरिएको भए, यो अवस्था टार्न सकिन्थ्यो।
विकसित राष्ट्रहरू (अमेरिका, अस्ट्रेलिया, बेलायत) मा हरेक ३ महिनामा औषधि समीक्षा हुने भएकाले अनावश्यक औषधि हटाउने, बिरामीलाई जानकारी दिने र खर्च पनि कम गर्ने गरिएको छ। यसले बिरामी, सेवा प्रदायक संस्था र राज्य सबैलाई लाभ पुर्याउँछ।
घटना २
१५ वर्षको बालक ३ वटा ओ.पी.डी. टिकटसहित फार्मेसीमा आयो। ती तीनै पर्चामा एउटै दुखाइ कम गर्ने औषधि छुट्टाछुट्टै चिकित्सकले लेखेका थिए। बालकले ती सबै औषधि एकैपटक सेवन गर्दा दोहोरो सेवन (Therapeutic Duplication) भएको पाइयो। यदि क्लिनिकल फार्मासिस्टद्वारा उचित पर्चा समीक्षा (Prescription Review) गरिएको भए, यस्तो समस्या रोक्न सकिन्थ्यो।
घटना ३
६५ वर्षका बुबा उच्च रक्तचापको औषधि Mylod-AT सेवन गर्दै हुनुहुन्थ्यो। हाडजोर्नी उपचारका लागि अस्पताल आउँदा डाक्टरलाई मौखिक रूपमा औषधि सेवनको जानकारी दिनुभयो र नयाँ औषधि दिन आग्रह गर्नुभयो। डाक्टरले Mylod-80 लेखिदिनुभयो। फार्मेसीमा उक्त औषधि नपाउँदा, फेरि डाक्टरसँग भेट्न पालो कुर्नुपर्ने भनियो। यस क्रममा बुबाले औषधि खान छोड्नुभयो र त्यसैका कारण आपतकालीन उच्च रक्तचाप अवस्था (Hypertensive Urgency) का कारण अस्पताल भर्ना हुनुपर्यो।
घटना ४
मानसिक औषधि सेवन गर्ने एक बिरामीलाई क्रमिक रूपमा मात्रा बढाउँदै (Dose Escalation) सेवन गर्नुपर्ने थियो। ५ दिनको अन्तरालमा मात्रा बढाउँदै लैजानुपर्ने तर उचित जानकारी नहुँदा सबै औषधि पालैपालो खाइयो। यसरी ओभरडोज हुँदा बिरामी अस्पताल भर्ना हुनुपर्यो।
घटना ५
२५ वर्षकी गर्भवती महिला नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल आउनुभयो। रिपोर्ट हेर्दा उनलाई आइरन सुक्रोज दिनुपर्ने देखियो। तर औषधि दिँदाखेरि प्रतिकूल असर देखिएपछि आई.सी.यू.मा भर्ना गर्नुपर्यो।
यस्ता घटनाहरू हरेक दिन स्वास्थ्य संस्थामा देखिन्छन्। साथै, अन्य उदाहरणहरूमा तान्नुपर्ने औषधि मुखले खाने, पाठेघरमा राख्नुपर्ने औषधि अन्यत्र प्रयोग गर्ने, इन्सुलिनको मात्रा मिलाउन नजान्दा समस्या उत्पन्न हुने, मानसिक औषधि सेवन गर्नेले परामर्श नपाउँदा औषधि छोड्ने, एउटै औषधि दोहोर्याएर सेवन गर्ने, औषधि प्रतिकूल असरबारे रिपोर्ट नहुँदा बजारमा गुणस्तरहीन औषधिको बिगबिगी हुने रहेका छन्।
यी सबै समस्याहरू औषधि सम्बन्धी अपर्याप्त जानकारी, नियमित औषधि समीक्षा, आवधिक पर्चा समीक्षा, औषधि मिलान (Medication Reconciliation) र औषधि प्रतिकूल असर रिपोर्ट नहुनुका कारण उत्पन्न हुन्छन्।
यी घटनाले क्लिनिकल फार्मासिस्टको आवश्यकता स्पष्ट रूपमा देखाउँछन्।
क्लिनिकल फार्मासिस्टको कार्यक्षेत्र
- औषधि समीक्षा
- औषधि प्रयोग अध्ययन
- एन्टिबायोटिक प्रतिरोध नियन्त्रण कार्यक्रम
- औषधि प्रतिकूल असर निगरानी
- चिकित्सकीय परामर्श
- औषधि परामर्श
- अनुसन्धान तथा शैक्षिक योगदान
- नयाँ औषधिको बजार निगरानी
- पर्चा समीक्षा र लेखाजोखा
- तथ्य र अध्ययन
विभिन्न अध्ययनहरूले देखाएका छन् कि क्लिनिकल फार्मासिस्टको संलग्नतामा औषधिबाट हुने प्रतिकूल असर करिब ४०% सम्म न्यूनिकरण गर्न सकिन्छ, साथै औषधिमा लाग्ने खर्च १० देखि १५% सम्म घटाउन सकिन्छ। विकसित राष्ट्रहरूले यिनै अध्ययनलाई आधार मानेर क्लिनिकल फार्मासिस्टलाई स्वास्थ्य सेवामा अनिवार्य रूपमा संलग्न गराएका छन्, जसले स्वास्थ्य सेवामा ठूलो टेवा पुर्याएको छ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा स्वास्थ्य साक्षरता निकै कम छ। स्वास्थ्य सेवा आफैंमा जटिल रहेको छ, जसका कारण औषधिको अत्यधिक वा अपर्याप्त प्रयोग (Over/Under use) बढी पाइन्छ। साथै, एन्टिबायोटिकहरूको दुरुपयोग र त्यसबाट उत्पन्न भएको एन्टिबायोटिक प्रतिरोध (Antimicrobial Resistance) पनि गम्भीर समस्या बनेको छ।
औषधि सम्बन्धी अपर्याप्त अध्ययन, गुणस्तरको सुनिश्चितता अभाव, औषधिको गुणस्तरीय प्रयोग (औषधिको उचित र सुरक्षित प्रयोग) र हाम्रो जनसंख्यामा औषधिको सुरक्षा विवरण (Safety Profile) निकाल्न नसक्नुका कारण अस्पताल भर्ना दर बढ्ने, अस्पतालमा बसाइको अवधि लामो हुने, स्वास्थ्यसम्बन्धी जीवनस्तर (Health Related Quality of Life) घट्ने जस्ता समस्या देखिएका छन्। यी सबै विषय क्लिनिकल फार्मासिस्टको कार्यक्षेत्रभित्र पर्छन्, जसको संलग्नताले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ।
नेपालको कुल जनसंख्याको करिब २०% स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्। तर, स्वास्थ्य सेवा प्रदायक संस्थामा पर्याप्त जनशक्ति नहुँदा धेरै बिरामी औषधिजन्य हानीको शिकार भएका छन्। औषधिको गलत प्रयोग, अपर्याप्त जानकारी र त्यसबाट उत्पन्न असरका कारण स्वास्थ्य खर्च बढ्ने मात्र होइन, रोगको भारले राष्ट्रिय स्वास्थ्य बीमा बोर्डमै आर्थिक बोझ थपिएको छ।
अन्त्यमा, राष्ट्रिय स्तर र स्वास्थ्य बीमा बोर्डले क्लिनिकल फार्मासिस्टको संलग्नतालाई प्राथमिकतामा राख्ने समय आएको छ। स्वास्थ्य बीमामा अन्य प्याकेजहरूसरह क्लिनिकल फार्मेसी प्याकेजलाई पनि पाइलट परियोजनाको रूपमा सुरु गर्नुपर्ने आवश्यकता छ। अध्ययनअनुसार स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नहुनुको एक प्रमुख कारण अवाञ्छित छनोट (Adverse Selection – आवश्यक नभएको सेवा बढी प्रयोग गर्ने प्रवृत्ति) हो, जसले बीमा बोर्डलाई थप आर्थिक भार बढाउँछ र कार्यक्रम असफल हुने अवस्था निम्त्याउन सक्छ।