काठमाडौं- गण्डकी प्रदेश सरकारले क्यान्सरपीडित बालबालिकाको उपचारमा आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ।
'क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०८२' बमोजिम गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र कान्ति बाल अस्पतालबीच भएको सम्झौता अनुसार २०८२ भाद्र ६ गतेदेखि कार्यक्रम कार्यान्वयनमा आएको हो।
कान्ति बाल अस्पतालमा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्व बन्धु बगाले र कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार गण्डकी प्रदेश स्थायी ठेगाना भएका बालबालिकामा क्यान्सर रोग पत्ता लागी कान्ति बाल अस्पतालमा उपचाररत भएमा संघीय सरकारले उपलब्ध गराउने रकमका अतिरिक्त गण्डकी प्रदेश सरकारले थप एक लाख रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने छ।
सबै प्रकृया विद्युतीय प्रणालीमार्फत सम्पन्न हुने भएकाले बिरामीले थप कागजात पेश गर्नुपर्ने छैन। यसले उपचाररत बालबालिका र अभिभावकलाई सहज हुने मन्त्रालयले जनाएको छ।
सम्झौता हस्ताक्षरपछि गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठकले अस्पतालको विभिन्न सेवा र सुविधा निरीक्षण समेत गरेका थिए।
गण्डकी प्रदेश सरकारको यो पहलले क्यान्सर रोगसँग जुझिरहेका बालबालिकालाई ठूलो राहत मिल्ने र उपचारमा सहजता आउने अपेक्षा गरिएको छ।