चिकित्सा शिक्षा स्वास्थ्य सेवाको आधारशिला हो, जसले चिकित्सक, नर्स, जनस्वास्थ्यविद र अन्य स्वास्थ्यकर्मी उत्पादन गर्छ। मानव जीवनलाई बढी सुरक्षित, दीर्घायु र गुणस्तरीय बनाउन चिकित्साशिक्षाले निकै महत्वपूर्ण भूमिका खेल्छ। यस्ता प्रशिक्षित जनशक्तिले रोगको पहिचान, रोकथाम, र उपचारमा प्रभावकारी भूमिका निभाउछन् । मातृ र शिशु मृत्युदर घटाउन सन्तुलित आहार तथा सुरक्षित प्रसूति सेवा, नवजात शिशु हेरचाह, र दुर्घटना तथा आपतकालीन उपचार, कुलत बाट बच्ने तरिकाहरु, दीर्घकालीन रोगहरूको उपचार तथा व्यवस्थापन, उमेरजन्य रोगको खोप कार्यक्रम, र समग्र जनस्वास्थ्य अभियानहरूमा चिकित्सा शिक्षाले नेतृत्वदायी भूमिका निर्वाह गर्छ। स्थानीय, क्षेत्रीय र राष्ट्रिय आवस्यकताकोअनुसन्धान, सोहि बमोजिमकोनीति निर्माण, र स्वास्थ्य प्रणाली सुदृढीकरण गर्ने चिकित्सक, नर्स तथा जनास्वस्थ्यकर्मिहरु चिकित्सा शिक्षाबाटै तयार हुन्छन्, जसले समग्र रूपमा देशको स्वास्थ्य स्तर सुधार गर्न मद्दत गर्ने मार्ग कोर्न सहयोग पुर्याउँछ। यो लेखमा चिकित्सा शिक्षाको पाठ्यक्रममा कम स्थान दिएको तर निकै महत्वपूर्ण विधा करुणा र मानवीय संवेदनाको आवस्यकता बारेमा उल्लेख गरिएको छ।
चिकित्सा शिक्षा पाठ्यक्रम परिमार्जनको अनिवार्य आवश्यकता
चिकित्सा शिक्षा पाठ्यक्रमको उद्देश्य बहुआयामिक र समग्र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा केन्द्रित हुनु पर्छ। पाठ्यक्रमले विद्यार्थीहरूलाई वैज्ञानिक ज्ञान, नैतिक मूल्य, र व्यावसायिक दक्षता प्रदान गर्ने लक्ष्य राख्दै उनीहरूलाई समानुभूतिपूर्ण र उत्तरदायी स्वास्थ्य सेवा प्रदायक बनाउनु पर्छ। पाठ्यक्रमले रोगको उपचार मात्र होइन, रोगको रोकथाम, स्वास्थ्य प्रवर्द्धन, समता र सामाजिक न्यायको संवर्धनमा समेत ध्यान दिनु पर्छ। साथै, अन्तरविषयगत सोच, अनुसन्धान क्षमताको विकास, र समुदायसँगको उत्तरदायित्वपूर्ण सम्बन्धलाई प्रोत्साहन गर्नु पर्छ। चिकित्सा शिक्षा पाठ्यक्रमको दीर्घकालीन उद्देश्य भनेको स्वास्थ्य सेवा प्रणालीमा सहज र गुणस्तरीय सुधार ल्याउने, समावेशी र सुसंस्कृत चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी तयार पार्ने, जनस्वास्थ्यका सरोकार र प्राथमिकतालाई सम्बोधन गर्ने हो। समग्रमा स्वस्थ समाजको निर्माण गर्ने हो।
नेपालका बिश्वबिधालय तथा प्रतिष्ठानहरुमा डाक्टर, नर्स, जनस्वास्थ्य तथा अन्य स्वास्थ्य बिषयहरुमा शरीर रचना विज्ञान(Anatomy), शरीर क्रिया विज्ञान (Physiology), जैवरसायन (Biochemistry), सूक्ष्मजीव विज्ञान (Microbiology) जस्ता आधारभूत बिज्ञान र विभिन्न क्लिनिकल विषयहरूलाई बढी प्राथमिकता दिइएको छ। विद्यार्थीले रोगको कारण, लक्षण, परीक्षण र उपचारका बारेमा विस्तृत अध्ययन गर्छन्। यी विषयहरूले विद्यार्थीको ज्ञानलाई वैज्ञानिक आधार प्रदान गर्छन्। तर मानव जीवन केवल शरीरको संरचना र कार्यसँग मात्र सम्बन्धित छैन। बिरामीहरु केवल रोग बोकेको शारीरिक वस्तु होइनन्, उनीहरु सामाजिक, सांस्कृतिक, आर्थिक, पारिवारिक र मानसिक आयाममा बाँधिएका व्यक्तित्व पनि हुन्।बिरामीको दुःखलाई केवल शारीरिक रोगको रूपमा बुझ्दा उपचार अधुरो र अपूरो हुन्छ। बिरामीले रोग हरुलाई परम्परागतरूपमा बुझ्ने तौरतरिका, उपचार पद्दति प्रतिको धारणा, सेवादिने र लिने बिचको आत्मीय सम्बन्ध, बिरामीको आफन्तलाई गर्ने व्यवहारले बिरामीको समग्र स्वास्थ्य अवस्था पत्ता लगाउन मद्धत गर्छ। नेपालका बिश्वबिधालय तथा प्रतिष्ठानहरुमा हालको शैक्षिक पाठ्यक्रमहरू मुख्यतः ज्ञानकेन्द्रित छन्, जसले तथ्य, सिद्धान्त र अवधारणाको संकलनमा जोड दिएका छन् तर व्यवहारिकता र भावनात्मक बुद्धिमत्ताको समुचित समावेश गरेका छैनन् । परीक्षा प्रणाली अझै पनि घोकन्ते र सोहीअनुसार हुबहु लेख्नु पर्नेमा आधारित मूल्याङ्कनमा केन्द्रित छ, जहाँ विद्यार्थीले पढेको कुरालाई कापीमा उतार्ने र प्रस्तुत गर्न सक्ने क्षमतालाई प्राथमिकता दिइन्छ, न कि विश्लेषणात्मक सोच, सृजनशीलता वा समानुभूतिपूर्ण दृष्टिकोणलाई। विशेषतः स्वास्थ्य शिक्षा जस्ता संवेदनशील क्षेत्रहरूमा समानुभूति, नैतिकता र करुणामूलक हेरचाहका विषयहरू पूर्णतः उपेक्षित छन्, जसले पेशागत उत्तरदायित्व र मानव केन्द्रित सेवाको मर्मलाई कमजोर बनाउँछ। यस्तो एकपक्षीय शैक्षिक संरचनाले समग्र व्यक्तित्व विकासमा बाधा पुर्याउँछ र सामाजिक उत्तरदायित्वप्रति संवेदनशील पेशागत नेतृत्व निर्माणमा चुनौती उत्पन्न गर्छ।
प्रविधिको तीव्र विकासले उपचार प्रक्रियालाई सहज बनाएको भए पनि, मानव संवेदना, बिरामीको पीडा बुझ्ने, उनीप्रति सम्मानजनक व्यवहार गर्ने, र सामाजिक-सांस्कृतिक सन्दर्भमा उपचार प्रदान गर्ने सीपहरू आजको शिक्षामा अनिवार्य रूपमा समावेश हुनुपर्छ। यसले सेवाको गुणस्तर सुधार गर्छ र स्वास्थ्य प्रणालीलाई पनि बढी उत्तरदायी, समावेशी, र मानवीय बनाउँछ। उदाहरणका लागि मुटुको समस्या, क्यान्सर वा मधुमेह जस्ता रोगहरू जीवनशैली, मानसिक तनाव र पारिवारिक पृष्ठभूमिसँग प्रत्यक्ष जोडिएका हुन्छन्। यस्तो अवस्थामा केवल औषधि मात्रले दीर्घकालीन उपचार सम्भव हुँदैन।
हाम्रो चिकित्सा पाठ्यक्रममा सहानुभूति, करुणामय सेवाशैली र प्रभावकारी संवादजस्ता अत्यावश्यक ज्ञान र सीपहरूको अभाव छ। हामी चिकित्सा स्नातकहरूलाई यी पक्षहरूमा कमजोर भएको आरोप लगाउँछौं, तर पाठ्यक्रम निर्माणको क्रममा यस्ता मानवीय पक्षहरूलाई समावेश गर्ने पर्याप्त ध्यान दिएका छैनौं। बिरामीसँगको सम्बन्ध, संवेदनशीलता र संवादको कला सिकाउने संरचना नै कमजोर हुँदा स्नातकहरू व्यवहारिक सेवामा चुनौती भोगिरहेका छन्। कहिलेकाही शारीरिक तथा मानसिक हिंसाको मारमा समेत पर्छन।घटना घटि सकेपछी बिरोधका कार्यक्रम तय हुन्छन्, अस्पतालका सेवा बन्द हुन्छन र अन्तमा त्यसको मुख्य मार र थप पिडा गरिव जनता लाईनै हुन्छ।
संवाद सीपको (communication skills) आवश्यकता
चिकित्सक, नर्स र बिरामी बिचको विश्वासपूर्ण सम्बन्ध उपचारको महत्वपूर्ण आधार हो। उनीहरुले बिरामीलाई बुझ्ने र समानुभूतिपूर्वक व्यवहार गर्ने क्षमता राखेनन् भने बिरामीले पनि उपचारमा विश्वास राख्दैनन्। नेपाल जस्तो विविध सांस्कृतिक पृष्ठभूमि भएको समाजमा चिकित्सकले भाषा, संस्कार, विश्वास र परम्पराको संवेदनशीलतालाई बुझ्न सक्नुपर्छ। यसका लागि संवाद सीप (communication skills) अपरिहार्य हुन्छ। बिरामी तथा उनका आफन्तको समस्या सुन्ने, बुझ्ने, स्पष्ट रूपमा बुझाउने, रोगको कारण र उपचार प्रक्रियाबारे सजिलो भाषामा व्याख्या गर्ने सीपले मात्र विश्वास र आत्मीयता कायम गर्न सकिन्छ।
चिकित्सक, नर्स, सार्वजनिक स्वास्थ्यकर्मी तथा अन्य सहायक स्वास्थ्य व्यवसायीहरूका लागि प्रभावकारी संवाद कौशल अत्यन्त महत्वपूर्ण छ, किनभने यसले बिरामीको उपचार प्रक्रिया मात्र होइन, सम्पूर्ण समुदायको स्वास्थ्य सुधारमा पनि गहिरो प्रभाव पार्दछ। स्पष्ट, संवेदनशील र समानुभूतिपूर्ण संवादले बिरामीको विश्वास बढाउँछ, उपचारमा सक्रिय सहभागिता सुनिश्चित गर्छ, र गलत बुझाइ वा त्रुटिपूर्ण निर्णयको सम्भावना घटाउँछ। समुदायसँगको संवादमा पनि यस्ता सीपहरूले स्वास्थ्य शिक्षा, रोग रोकथाम र सामाजिक समर्थनलाई सशक्त बनाउँछ। त्यसैले, स्वास्थ्य सेवा क्षेत्रका लागेका सबै व्यक्तिहरुले संवाद कौशललाई आफ्नो अभ्यासको अभिन्न अङ्ग बनाउनु अत्यावश्यक छ।
समुदायसँगको सम्बन्ध
नेपालको चिकित्साशिक्षा पाठ्यक्रममा अझै पनि अस्पताल र कक्षाकोठाभित्र सीमित हुने किसिमको छ। तर, स्वास्थ्य समस्या समुदायसँग प्रत्यक्ष सम्बन्धित हुन्छन्। हाम्रा बिधार्थीहरुले स्वास्थ्य समस्याहरु, प्रदूषण, पोषणको कमी, स्वास्थ्यमा पर्ने गहिरो प्रभावका बारेमा अन्तराष्ट्रिय उदाहरण पढेको हुन्छन तर आफ्नो देशमा के भैरहेको छ भन्नेमा अनभिज्ञ हुन्छन। नेपालमा बस्ने विभिन्न समुदायको आर्थिक उपार्जनका मुख्य आधारहरु र सर्ने तथा नसर्ने रोगहरुको अवस्था, जीवनशैली, संस्कार, गरिबी, असमानता, जातीय विभेद, अशिक्षा जस्ता सामाजिक समस्याको बारेमा ज्ञान र दैनिक चुनौतीबारे थाहा भएन भने, उनीहरूले बिरामीको रोगको वास्तविक कारणलाई बुझ्न सक्दैनन्। समुदाय लाई स्वास्थ्य समस्या र कारण बारेमा बुझाउन सक्दैनन्।
स्वास्थ्य विज्ञानका विद्यार्थीहरूका लागि समुदायनै सबैभन्दा उत्कृष्ट विद्यालय हो, जहाँ उनीहरूले वास्तविक जीवनका अनुभवबाट सिक्ने अवसर प्राप्त गर्छन्। समुदायमा रहेर विद्यार्थीहरूले प्रमुख स्वास्थ्य समस्याहरू, बिरामीका जीवन्त भोगाइहरु, स्थानीय समुदायको जीवनशैली, सामाजिक-सांस्कृतिक सन्दर्भमा देखिने अवसर र चुनौतीहरूबारे प्रत्यक्ष ज्ञान हासिल गर्छन्। यस प्रक्रियामा उनीहरूले समुदायमै आधारित प्रभावकारी स्वास्थ्यबर्धक कार्यक्रम पहिचान गर्न, परीक्षण गर्न र सुधार गर्न सक्ने क्षमता विकास गर्छन्। यस्तो अभ्यासले विद्यार्थीहरूलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी, व्यवहारिक ज्ञान र अनुभव, समानुभूति र उत्तरदायित्वबोध सहितको दृष्टिकोण प्रदान गर्छ।
विद्यार्थीलाई समुदायसँग जोडेर सिक्ने तथा सिकाउने व्यवस्थाले स्वास्थ्य समस्याको समग्र दृष्टिकोण बनाउन मद्दत गर्छ। यसले रोग निवारण र स्वास्थ्य प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्याउँछ। दीक्षित भएपछि यिनै अनुभव र अन्तर्दृष्टिका आधारमा उनीहरूले समुदायको हितमा आधारित, सन्दर्भअनुकूल र प्रभावकारी स्वास्थ्य नीति निर्माण गर्न सक्षम हुन्छन्, जसले दीर्घकालीन सामाजिक परिवर्तन र समावेशी स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्याउँछ।
व्यक्तिगत र पारिवारिक जीवनको भूमिका
बिरामीलाई उपचार गर्ने क्रममा चिकित्सकले केवल व्यक्तिको रोग मात्र होइन, उसको पारिवारिक अवस्था पनि बुझ्नुपर्छ। धेरै पटक बिरामीको रोग परिवारको तनाव, आर्थिक समस्या वा सामाजिक दबाबसँग सम्बन्धित हुन्छ। यदि चिकित्सकले बिरामीलाई परिवारको सन्दर्भमा नबुझी केवल औषधि लेखिदिन्छ भने उपचार अपूरो हुन्छ। दुइछाक खान नपुग्ने परिवारको बिरामीलाई तपाई कमजोर हुनुहुन्छ, रगत पनि कम छ, तौल पनि कम छ त्यसैले दैनिक माछा, मासु, फलफुल खानु पर्छ भन्नुको केहि अर्थ हुदैन। महँगो औषधि सिफारिस केवल कागजमा सिमित हुन्छ।
त्यसैगरी मानसिक स्वास्थ्यसम्बन्धी समस्या परिवार वा समाजसँग जोडिएको हुन्छ। यस अवस्थामा समाज, संस्कृति र आर्थिक अवस्थाको ज्ञान र मलाई यस्तै परेको भए कस्तो महसुस हुन्थ्यो भन्ने भावनात्मक र सामाजिक सन्दर्भ बुझ्न मद्दत पुग्ने खालको विषयबस्तुको समाबेस हुन् आवश्यकछ। यस्तो पाठ्यक्रमको समावेस गरेमा उपचारलाई प्रभावकारीर जीवन उपयोगी बनाउन सहयोग पुर्याउँछ।
नाफामुखी प्रवृत्ति र यसको चुनौती
नेपालमा चिकित्साशिक्षा नाफामुखी व्यवसायमा रूपान्तरण भएको छ। बिगतमा निजी मेडिकल कलेजहरू महँगो शुल्क लिँदै आएका थिए, मनपर्दी भर्ना लिदै आएका थिए । चिकित्सा शिक्षा आयोगले यस्ता विकृतिलाई रोक्न सफल भए पनि चिकित्सा शिक्षा आयोगलाई कमजोर बनाउनमा सरकारको नेतृत्वमा बस्नेहरुनै लागिपरेका छन्।
चिकित्साशिक्षा लाई नाफामुखी व्यवसाय ठान्ने, र पार्टी तथा कार्यकर्ताको लगानीले गर्दा नाफा कमाउने उधोगको रुपमा स्थापित गर्ने दवाव दिदै छन्। जसले गर्दा विद्यार्थीहरू अध्ययन पूरा गरेपछि समाजसेवा भन्दा बढी नाफा कमाउने मानसिकतामा जाने प्रवृतिको विकास भएको छ।
जब शिक्षा नै व्यापारिक हुन्छ, त्यहाँ मानवीय मूल्य र समानुभूतिपूर्ण दृष्टिकोण पन्छिन्छ। यसले चिकित्साशिक्षाको मूल उद्देश्यलाई कमजोर बनाउँछ। विद्यार्थीलाई व्यवसायिक नाफाभन्दा पर उठेर मानवीय सेवाको महत्व बुझाउन कठिन पर्छ। यसबारेमा हामी सबै संबेदनशील हुन आवश्यक छ।
मानवीय ब्यबहारको महत्व
चिकित्साशिक्षाको पाठयक्रममा मानवीय व्यवहार, समानुभूति, जीवन, मरण, सामाजिक विभेद, अपाङ्गता भएका व्यक्ति तथा परिवारका भोगाई जस्ता विषयहरूको समावेशले भविष्यका चिकित्सक, नर्स तथा जनस्वास्थ्यकर्मी लाई केवल रोग उपचार गर्ने प्रविधिमा सीमित नराखी, बिरामीको लाई सम्पूर्ण व्यक्तित्वका रूपमा बुझ्न प्रेरित गर्छ। यस्तो शिक्षाले बिरामीको अधिकार, गोपनीयता र समान पहुँचबारे सचेत गराउँछ भने समुदायको संस्कार, स्वास्थ्य विश्वास र जीवनशैलीलाई बुझ्न मद्दत पुर्याउँछन्। स्वास्थ्यकर्मी हरुलाई सामाजिक सन्दर्भमा आधारित स्वास्थ्यसेवा प्रदान गर्न सक्षम बनाउँछ, जसले रोग निवारण र स्वास्थ्य प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्छ।
यस्ता पाठ्यक्रमले बिरामीको सारीरिक, सामाजिक तथा मानसिक अवस्था, तनाव र भावनात्मक पाटो बुझ्न सहयोग गर्छ भने संचार सीप प्रशिक्षणले चिकित्सकलाई बिरामी, परिवार, आफन्त र समुदायसँग समानुभूतिपूर्ण संवाद गर्न सक्षम बनाउँछ। चिकित्सक, नर्स, जनस्वाथ्यकर्मीमा संवेदनशीलता, कल्पनाशक्ति र करुणाभावको विकास गराउँछ। जसले स्वास्थ्यसेवा लाई अझ आत्मीय र मानवकेन्द्रित बनाउँछ। बिरामीको आत्मसम्मानको ख्याल राख्दै सेवाभावको विकास गर्छ। यी सबै पक्षहरूले मिलेर चिकित्साशिक्षालाई केवल विज्ञान मात्र नभई सेवा र मानवीय संवेदनामा आधारित पूर्ण शास्त्र बनाउन मद्दत गर्छन्।
निष्कर्ष
सारांशमा भन्नुपर्दा, चिकित्साशिक्षा केवल शरीरको रोगको अध्ययनमा सीमित हुनु हुँदैन। स्वास्थ्य शिक्षाको उदेश्य सम्पूर्णतामा मानिसलाई बुझ्ने र उपचार गर्ने दिशामा केन्द्रित हुनुपर्छ। नेपालको वर्तमान पाठ्यक्रममा विज्ञान र प्रविधिलाई प्राथमिकता दिइए पनि संवाद सीप, समुदायप्रतिको सकारात्मक धारणा, बिरामीको व्यक्तिगत र पारिवारिक पृष्ठभूमि,उनीहरुको आत्मसम्मान र सामाजिक सन्दर्भप्रति संवेदनशीलताको बढाउने पाठ्यक्रम तथा पाठ्यपुस्तक समाबेस गरीएको छैन। यसबारेमा सोच्ने र पाठ्यक्रम परिवर्तन गर्न सम्बन्धित निकाय समयमै लाग्नु आवश्यक छ। साथै नाफामुखी स्वास्थ्य शिक्षा प्रवृत्तिले चिकित्सा शिक्षा र अभ्यासलाई चुनौती दिएको छ र यस बारेमा गम्भीर हुन हुन ढिला भैसकेको छ।
(प्राध्यापक सुवेदी पाटन बिज्ञान प्रतिष्ठान, जनस्वास्थ्य संकायका पूर्व प्रमुख हुन्।)